Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक संकटको संघारमा भुटान, विदेशी मुद्रा सञ्चिती ५७.४ करोड डलर मात्रै

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १२ : ०७ मा प्रकाशित

आर्थिक संकटको संघारमा भुटान, विदेशी मुद्रा सञ्चिती ५७.४ करोड डलर मात्रै

भुटान आर्थिक संकटको संघारमा पुगेको नवनियुक्त प्रधानमन्त्री छिरिङ तोब्गेले बताएका छन् ।

प्रधानमन्त्री तोब्गेले युवा बेरोजगारी दर ३० प्रतिशत पुगेको र हरेक आठ जनामा एक जना गरिबीको रेखामा परेको उल्लेख गर्दै भुटानको आर्थिक रणनीतिमा केही परिवर्तन ल्याउन पर्ने देखिएको बताएका हुन् । विगत पाँच वर्षको औसत कुल ग्राहस्थ उत्पादन वृद्धिदर १.५ प्रतिशतमा सीमित रहनु, सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको १३२ प्रतिशत अर्थात २६७ बिलियन पुग्नु तथा बेरोजगारी दर ५.९ प्रतिशत पुग्नाले देश आर्थिक संकटको सम्मुखमा पुगेको तोब्गेले बताएका हुन् ।

यसैगरी देशको विदेशी मुद्रा सञ्चिति ५७.४ करोड डलरमा सीमित हुनाले १२ महिनाको कुल आयातसमेत नधान्ने अवस्था निम्तिन लागेको पनि बताइएको छ । भुटानको शासन विधिका रुपमा लिइने गरेको ग्रस नेसनल हेप्पिनेसलाई अब परिमार्जन गर्ने समय भएको तोब्गेले बताएका हुन् । उनले ग्रस नेसनल हेप्पिनेसका आधारभूत सिद्धान्तहरु भने परिवर्तन नगरी दीगो, समतामूलक विकास र सामाजिक उन्नति, वातावरणीय संरक्षण, सांस्कृतिक सम्बर्द्धन तथा सुशासनबीच सन्तुलन ल्याउन सकिने बताए ।

भुटानको पर्यटन उद्योगको रिकभरी एसियाका अन्य पर्यटन गन्तव्य भन्दा कमजोर रहँदा देशको आर्थिक अवस्थामा थप प्रेसर परेको हो । कोभिड अघिको तुलनामा पर्यटन आवागमन अहिले एक तिहाई मात्रै रहँदा देशमा बेरोजगारी दर उच्च पुगेको जनाइएको छ । भुटानले पर्यटकसँग लिने गरेको दिगो विकास शुल्क कोभिड पछि प्रति दिन २ सय डलर पुर्याएपनि फेरि घटाएर एक सय डलरमा झारिएको थियो । पर्यटकमा कमी आएपनि भुटानले आफ्नो "हाई भ्याल्यु, लो भोल्युम" रणनीतिलाई भने परिवर्तन नगर्ने बताएको छ ।

नेपालमा जस्तै भुटानबाट पनि ठूलो संख्यामा युवा शिक्षाका लागि पछिल्लो समय विदेशिन थालेका छन् । तर यसलाई देशले अवसरका रुपमा लिएको बताउँदै तोब्गेले उनीहरु सक्षम बनेर देश फर्किँदा फाइदा पुग्ने पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको