Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने

अर्थ संसार

बुधबार, १९ असार २०८१, १५ : २९ मा प्रकाशित

काठमाडौँ महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने

काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।

विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो । 

यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनेछन् । यस्तै १७ सय ५२ जनाले विज्ञान विषय, १७३ जनाले मानविकी, १३६ जनाले कानुन विषय र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए । 

महानगरपालिका भित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० वटा शैक्षिक संस्था छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।

छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम खुला 

शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको छ । इच्छुक विद्यार्थीहरुले असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फाराम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् । 

अनलाइन आवेदन फाराम पेस गर्ने विधि 

काठमाडौँ महानगरपालिकाको वेभसाइट http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको