Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर मलाई झुक्क्याए: प्रधानमन्त्री

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १३ : ३७ मा प्रकाशित

ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर मलाई झुक्क्याए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई  धोखा दिएको भन्दै संसदमा  टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले बाहिर एमाले र कांग्रेस मिलेको समाचार आइरहे पनि ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर विश्वास दिलाएको बताए ।

ओलीले आफूलाई वामपन्थी आन्दोलन अगाडि बढाउँदै आगामी चुनावसम्म सरकार लैजाने र एउटै पार्टी बनाएर चुनाव लड्नेसम्मको आश्वासन दिएको प्रचण्डको भनाइ छ ।

उनले भने  ‘वामपन्थी आन्दोलनको भावुक बहकाउले मलाई एमालेसहितको गठबन्धनमा लगेको हो । एमाले अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतमा यहाँ कोही छैन ।’

‘मलाई राम्रो फकाउनुभयो । वामपन्थी पो मिल्नुपर्छ कांग्रेस को हो र भन्नुभो । धेरै धेरै धेरै धेरै… । म मान्छे यस्तै छु, प्रचण्ड यस्तै छ । तपाईँहरूले चिन्नुभएको छ । अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि वामपन्थी नै परेँ । अको चुनावमा पश्चिम बंगाल भइन्छ भनेपछि हो जस्तो लाग्यो । सरकारको गियर परिवर्तनका लागि हो जस्तो ठानेँ । जनतामा आशा पनि जगाइयो । तर जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, विश्वास गरेँ त्यो षडयन्त्र रहेछ भन्ने थाहा पाउन म ढिला भएँ । केही मान्छे कुण्ठा र प्रतिशोधबाट बाहिर निस्किन सक्दैनन् भन्ने हिसाबै गर्न सकिनँ ।’

‘लामा–लामा मिठा संवादहरूबाट लट्ठ्याइएँ । म अल्मलिए । स्वर्ग र नर्क सँगै जाने कुरा १६ गतेको हो । सरी है सरी… १७ को हो । बिहान स्वर्ग र नर्क सँगै जाने, मिलेर चुनाव लड्ने, पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुस् भनेपछि मक्ख परेँ । पत्रिकामा छरपस्ट आएको थियो । मूल नेतृत्वले नै स्वर्ग गए पनि सँगै भनेपछि फुर्किँदै क्याबिनेटमा गएँ । उपप्रधानमन्त्री, मन्त्री सबैलाई शंका थियो । लास्ट हस्ताक्षरको तयारी भएको छ भनेका थिए । तर मैले चार घण्टा एमाले अध्यक्षसित कस्तो राम्रो कुरा भएको छ, ढुक्कसित काम गर्नुस् भनेँ । कति लाटो म । नयाँ समीकरणमा मेरो जस्तो नहोस् । अगाडिपट्टिबाट मुसारेर पछाडिबाट…(छुरा घोपेको इशारा) यस्तो चाहिँ नहोस् मेरो शुभकामना छ । तपाईँहरू मिल्नुस्, मलाई कुनै टेन्सन छैन । पहिलो पटक मिल्न लागेको पनि होइन । अन्तिम पटक मिल्नुहुने पनि होइन ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको