Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री पौडेलका अघि चुनौतीका चाङ

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १२ : १३ मा प्रकाशित

अर्थमन्त्री पौडेलका अघि चुनौतीका चाङ

विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत केही सूचक बलिया रहे पनि राजस्व संकलन, पुँजीगत खर्च, विदेशी अनुदानको अवस्था नाजुक रहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलले पाँचौं पटक अर्थतन्त्रको बागडोर सम्हालेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी पौडेलका अघि चुनौतिका चाङ छन् ।

उनले सोमबार (असार ३१ गते)पदभार सम्हालिसकेका छन् । सिंहदरबारको यात्रा २०५३ सालमै सुरु गरेका पौडेल अर्थमन्त्री भने पाँचौपटक बनेका हुन् । यसअघि २०७९ पुसमा चौथो पटक अर्थमन्त्री बनेका पौडेलेको कार्यकाल भने छोटो रह्यो । अहिले अर्थतन्त्र चरम आर्थिक मन्दीमा रहेको अर्थविज्ञहरूले बताउँदै आएका छन् । राजस्व संकलन, पुँजीगत खर्च, वैदेशिक सहायता तथा अनुदानलगायतको अवस्था नाजुक छ ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदा पनि कर्जा माग बढ्न सकेको छैन । उद्योग व्यवसाय ५० प्रतिशतभन्दा कम क्षमतामा चलेका छन् भने उत्पादन, उत्पादकत्व र बजार माग निरन्तर घट्दो छ । सेयर बजार बढ्न सकेको छैन भने घरजग्गा कारोबार शिथिल छ । लघुवित्त, सहकारी, मिटरब्याजीलगायत समस्या समाधानको भारी पनि पौडेलको काँधमा आएको छ ।

अर्थ मन्त्रालयलाई देशको ढुकुटी सम्हाल्ने मुख्य निकाय मात्र नभई समग्र देशको अर्थ व्यवस्थालाई दिशा निर्देशन गर्ने जिम्मेवारी पनि हुन्छ ।  अर्थ मन्त्रालय सबैभन्दा महत्वपूर्ण मन्त्रालयको सूचीमा अग्रस्थानमै आउँछ । यो मन्त्रालय हाँक्ने व्यक्ति अर्थतन्त्र राम्ररी बुझेको विज्ञ हुनुपर्छ भन्ने मान्यता छ । तर यसअघि पनि अर्थमन्त्री भइसकेकाले उनमा अर्थतन्त्रबारे केही ज्ञान त होला, तर उनी अर्थविज्ञ भने होइनन् । 

पौडेलका लागि सुधारिएको बाह्य क्षेत्र, पर्याप्त तरलता, घट्दो ब्याजदर सहज पक्ष छ भने सरकारी वित्तमा सुधार निकै चुनौतीपूर्ण छ । पौडेलमाथि अर्थतन्त्र सुधार गर्ने चुनौती ज्युँका त्युँ छ । पौडेल पाँचौ पटक अर्थमन्त्री बन्दै गर्दा मुलुकको आर्थिक वृद्धि दर बढाउने, देशभित्र रोजगारी सिर्जना गर्ने, वैदेशिक लगानी भित्र्याउने, कृषि, पर्यटन क्षेत्रलाई तीव्रता दिने र मुलुकको व्यापार घाटा कम गर्ने चुनौती छ ।  

आगामी वर्षका लागि निवर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गरिसकेका छन् । अर्थमन्त्रीको पदभार ग्रहण गरेकै भोलिपल्टदेखि पुनले ल्याएको बजेट पौडेलले कार्यान्वयन गर्नुपर्ने बाध्यता छ । आफ्नै गठबन्धन सरकारले ल्याएको भए पनि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र स्वयम् अर्थमन्त्री पौडेलले समेत आगामी बजेटले अर्थतन्त्रको विद्यमान समस्या समाधान गरेर अर्थतन्त्र चलायमान बनाउन नसक्ने तर्क राख्दै आएका थिए । मंगलबारदेखि अर्थमन्त्री पौडेलले त्यही बजेट कार्यान्वयन गर्दै छन् ।
बाह्य र वित्तीय क्षेत्रका यी सूचकले सरकारलाई खर्च गर्ने अवसर दिए पनि कर्मचारी प्रशासनमा सुधार, नीतिगत भ्रष्टाचार कुशासनलगायत क्षेत्रको विकृति सुधार्न निकै कडा मिहिनेत गर्नुपर्ने छ ।

निजी क्षेत्रका प्रिय मानिएका अर्थमन्त्री पौडेलको अर्को चुनौती नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन गर्नु पनि हो । स्वार्थ र विवादकै कारण गत पुस २० देखि रिक्त रहेको धितोपत्र बोर्ड अध्यक्षमा सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन । बोर्ड अध्यक्ष नियुक्तिको विवाद पुरानो गठबन्धन टुटेर नयाँ बन्नुको एक मुख्य कारक पनि मानिन्छ । 

मन्दीमा रहेको र अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले खस्किएको अर्थतन्त्र उकास्नुपर्ने उद्योगी,व्यवसायीको र जनताको उपभोग बढाउन कन्फिडेन्स बढाने खालको अवस्था बनाउनुपर्ने चुनौती रहेको अर्थशास्त्री एवंम राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए । 
अर्थमन्त्रीबाट सकारात्मक र सवल अर्थतन्त्रको अपेक्षा गर्न सकिने पनी उनको भनाई छ । 

उनले भने, ‘अहिले अर्थतन्त्रमा मन्दी छ । खासगरी उद्योगधन्दा चलायमान छैन । बैंकवित्तमा कर्जा माग छैन् । अधिक तरलताका कारण बैंक र राष्ट्र बैंकमा असहजता छ । र यसरी अर्थतन्त्र ठप्प हुँदा आर्थिक वृद्धी हुन सक्दैन ।’

सरकारले विदेशी सञ्चिती जोगाउनुभन्दा आयातलाई प्रोत्साहन गर्नुपर्ने तर्क उनको छ । 

सरकार पक्षले माने पनि नमाने पनि अहिले अर्थतन्त्र शिथिल अवस्थामा छ । रेमिट्यान्स निरन्तर रूपमा बढेको र पर्यटनमा सामान्य सुधार हुँदा भित्रिएको केही विदेशी मुद्राले विदेशी विनिमय सञ्चिति, शोधनान्तर, चालु खाता सबल देखिएका छन् । तर रेमिट्यान्सको रकम मात्र बिर्सने हो भने बाह्य क्षेत्र कुनै हिसाबले ठीक छैन । किनकि वैदेशिक लगानी, सरकारी अनुदान र विदेशी सहायताको अवस्था नाजुक छ । सेवा क्षेत्र नाफामा जानुपर्नेमा घाटामा छ । जबसम्म वस्तु निर्यात बढ्दैन र आयात बढे पनि निर्यात बढेको कारण समग्र व्यापार घाटा कम हुने स्थिति हुँदैन । व्यापार घटेर बाह्य क्षेत्र सन्तुलन हुनु भनेको अर्थतन्त्रमा दिगो सुधार नहुने अर्थविद्हरू बताउँछन् ।

भविष्यमा एमालेको अध्यक्षको सम्भावित दाबेदार मानिएका पौडेललाई भद्रगोल अर्थतन्त्रलाई सही बाटोतिर लैजानुपर्ने चुनौती पनि रहेको छ । 
अर्थतन्त्रका मूलभूत समस्या के हुन पहिचान गरेर अगाडि बढ्नुपर्ने अर्थशास्त्री चन्द्रमणी अधिकारीले बताएका छन् । 
अधिकारीले सार्वजनीक लगानी र पुँजीगत खर्च बढाउनुपर्ने चुनौती रहेको बताए । उनले भने ‘सार्वजनीक लगानी र पुँजीगत खर्च बढेको छैन् । सबैभन्दा ठुलो त व्यवसायी, उपभोक्ता र बैंक वित्तिय क्षेत्रको अविश्वासलाई कर्जा विस्तार गर्नुपर्ने चुनौती छ ।’

पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षत्रीले राजश्वले चालु खर्च समेत धान्न नसक्ने अवस्था रहेको र यसरी सरकार चलाउन पनि समस्या हुने भएकाले यस्ता समस्याहरुलाई बुझेर सजकता अपनाउनुपर्ने र सबैको सल्लाह लिएर अगाडि  बताएका छन्  ।

यसका साथै अर्थतन्त्रमा देखिएका तत्कालीन र दीर्घकालीन समस्या समाधानमा सरकार गम्भीर हुनु आवश्यक देखिन्छ । मूल्यवृद्धि, अधिक तरलता,राजस्वको चुवावट लगायत विविध समस्याले अर्थतन्त्र थलिएको छ । यसरी संकटमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनु र देशमा आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्नु नवगठित सरकारको सबैभन्दा ठूलो जिम्मेवारी र चुनौती हो ।  

अहिले अर्थतन्त्रमा ठूलो संकट छ । यस्तोमा सबैसँग समन्वयन गर्नसक्ने र उच्च राजनीतिक चरित्र भएका पौडेलप्रति उद्योगी व्यवसायीले पनि राम्रै अपेक्षा गरेका छन् । प्रशासकहरूले पनि अहिलेको समयमा पौडेल अर्थमन्त्री हुँदा राम्रै हुने अपेक्षा गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको