Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आर्थिक वर्षसँगै कर्मचारी सञ्चय कोषको ब्याजदर घट्यो,कुनमा कति ब्याज ?

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १३ : ५० मा प्रकाशित

नयाँ आर्थिक वर्षसँगै कर्मचारी सञ्चय कोषको ब्याजदर घट्यो,कुनमा कति ब्याज ?

कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले नयाँ आर्थिक वर्ष २०८१/०८२ अर्थात् आजदेखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जितेन्द्र धितालले जानकारी दिए । 

उनका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर ५.५ शून्य प्रतिशत कायम भएको छ भने विशेष सापटीको ब्याजदर ६.० प्रतिशत निर्धारण गरिएको छ ।  

धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाई सात ७.५शून्य प्रतिशत कायम गरेको कोषले जग्गा खरिद सापटी वा सरल सापटी लिएका सञ्चयकर्ताका लागि ८ प्रतिशत ब्याज निर्धारण गरेको छ । कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको व्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशत विन्दुले छुट दिने निर्णयसमेत गरेको छ ।

काठमाडौं उपत्यका तथा सातै प्रदेशमा रहेका शाखा कार्यालय र सेवा केन्द्रमार्फत कोषले सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गरिरहेको छ । 

कोषबाट सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्म रकम विशेष सापटीको रुपमा प्रदान भइरहेको छ ।

कोषले आफ्ना सञ्चयकर्तालाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि १ करोडसम्मको सापटी रकम प्रदान गर्ने गरेको छ । कोषका अनुसार सञ्चयकर्ता स्वयं वा पतिपत्नी वा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउने प्रयोजनका लागि दिइने शैक्षिक सापटी तथा सञ्चयकर्ताको सेवा अवधिमा आइपर्ने भैपरी आउने कार्यका लागि दिइने सरल सापटीमा  ४० लाखसम्म प्रदान गर्ने गरिएको छ । यस्तै घर मर्मत गर्नका लागि  ३० लाखसम्म प्रदान हुने गरेको छ ।  

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र एवं सामुदायिक तथा संस्थागत विद्यालयतर्फका गरी ६ लाख ४५ हजार सञ्चयकर्ता तथा योगदानकर्ता आबद्ध रहेका छन् । कोषले एक सूचना जारी गर्दै आर्थिक वर्षको पहिलो दिन आज कोषको बाह्य कारोबार बन्द हुने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको