Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट, अन्य सूचक कस्ता ?

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १२ : ५० मा प्रकाशित

बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट, अन्य सूचक कस्ता ?

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ। केही समययता निरन्तर बढ्दै आएको निक्षेप संकलनमा साउन लागेसँगै सामान्य गिरावट देखिएको हो।

केन्द्रीय बैंकको तथ्यांकअनुसार साउनको १ र २ गते मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप २९ अर्ब रुपियाँले घटेको हो । 

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ९३ अर्ब रुपियाँ निक्षेप थियो । साउन १ गते त्यो १८ अर्ब रुपियाँले घटेर ६४ खर्ब ७५ अर्ब रुपियाँमा झरेको थियो । साउन २ गते थप ११ अर्ब रुपियाँले घटेर त्यो ६४ खर्ब ६४ अर्ब रुपियाँमा सिमित भएको तथ्यांकमा उल्लेख छ । 

समिक्षा अवधीमा बाणिज्य बैंकहरुमा भएको निक्षेप मात्रै २६ अर्ब रुपियाँले घटेको छ । असार मसान्तमा २० बाणिज्य बैंकमा ५७ खर्ब ५५ अर्ब रुपियाँ निक्षेप थियो । त्यो साउन १ गते ५७ खर्ब ३९ अर्ब रुपियाँ र साउत २ गते ५७ खर्ब २९ अर्ब रुपियाँमा सिमित भएको छ  ।

अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप भने दुई दिनमा तीन अर्ब रुपियाँले घटेको छ । असार मसान्तमा अन्य बैंक तथा वित्तिय संस्थामा सात खर्ब ३८ अर्ब रुपियाँ निक्षेप थियो । त्यो साउन १ गते सात खर्ब ३६ अर्ब रुपियाँ र साउन २ गते सात खर्ब ३५ अर्ब रुपियाँमा सिमित भएको देखिन्छ । 

आर्थिक बर्षान्तका कारण सरकारले असारमा उच्च मात्रामा खर्च गर्छ । त्यो खर्च सिँधै बैंकिङ प्रणालीमा आउछ । त्यसले गर्दा असारमा बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप पनि ह्वात्तै बढ्छ । गएको असारमा पनि दुई खर्ब ३२ अर्ब रुपियाँले निक्षेप बढेको थियो ।

तर, साउन सकिएपछि निर्माण कम्पनीहरु लगायतका संस्थाले त्यसरी आएको पैसा झिकेर श्रमिक, सप्लार्यस् लगायतका सेवा प्रदायकहरुलाई भुक्तानी दिन्छन् । त्यसले गर्दा साउनमा नियमीत रुपमै निक्षेप घट्ने गर्छ ।

दुई दिनमा बैंक तथा वित्तिय संस्थाको कर्जा प्रवाह पनि २५ अर्ब रुपियाँले घटेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब ६९ अर्ब रुपियाँ थियो । त्यो साउन १ गते ५१ खर्ब ५२ अर्ब रुपियाँ र साउन २ गते ५१ खर्ब ४४ अर्ब रुपियाँमा सिमित भएको छ ।  

त्यसमा बाणिज्य बैंकको मात्रै २२ अर्ब रुपियाँले घटेको छ । असार मसान्तसम्म बाणिज्य बैंकले कुल ४५ खर्ब ७१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए । त्यो साउन १ गते ४५ खर्ब ५६ अर्ब रुपियाँ र साउन २ गते ४५ खर्ब ४९ अर्ब रुपियाँमा सिमित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको