Like us!
Follow us!
Connect us!
Watch us!

१८ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह,१ करोडमाथिको रकम उच्च

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १५ : ५० मा प्रकाशित

१८ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह,१ करोडमाथिको रकम उच्च

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा प्रवाह भने बढ्न थालेको छ । वाणिज्य बैंकहरुको सेयर धितो कर्जामा लगानीको माग बढेको राष्ट्र बैंकको तथ्ंयाकले देखाएको छ । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंक सेयर बजारप्रति केही लचिलो बनेकाले पनि सेयर धितोमा प्रवाह हुने कर्जा बढेको जानकारहरु बताउछन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट  प्रवाह हुने सेयर धितो कर्जा भने १८.१ प्रतिशत बढेको छ ।  गत आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म सेयर धितोमा कुल ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० सम्म ७६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा २५.१ प्रतिशतले बढेको छ। २०८१ असारसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।

यसैगरी २०८१ असारसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।

वर्ष २०८०।८१ मा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १२.८ प्रतिशतले बढेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।

साथै, २५ लाखभन्दा कम सेयर धितोकर्जा ३.९ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्म २५ लाखभन्दा कम सेयर धितोकर्जा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले सेयर धितोमा लगाएको ४, १२ करोडको नीतिलाई संशोधन गरेर १५, २० करोड पुर्याएसँगै सेयर धितोमा जाने कर्जामा १ करोड भन्दामाथीको कर्जा बढेको छ । यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ’ भन्ने नीति लिएको छ । सेयर बजार लगातार बढेसँगै सेयर धितोमा जाने कर्जा पनि अझै बढ्ने देखिन्छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको