Like us!
Follow us!
Connect us!
Watch us!
ऋण लिन नागरिकता बन्धकी राख्नु पर्ने अबस्थाकी चम्पा अहिले ३२ जनालाई रोजगारी दिन्छिन्

सुदूरकी सफल महिला उद्यमी

मंगलबार, १४ मंसिर २०७३, १२ : ४२ मा प्रकाशित

सुदूरकी सफल महिला उद्यमी

दीपेन्द्र भण्डारी

धनगढी– कुनैवेला सहपाठीको खिसीको पात्र बनेकी चम्पादेवी हमाल यतिखेर सदूरपश्चिमकी चर्चित उद्यमी महिला बनेकी छन् । दिनेश होजियारीकी सञ्चालक उनी यस्तो पात्र हुन्, जसलाई कुनै समय सम्पत्ति नहुँदा ऋण लिन नागरिकता धितोमा राख्नु पर्ने अबस्था थियो । यतिखेर उनीसफल उद्यमी बनेकी बनिन् ।

डडेल्धुरा रुवाखोलामा महतो परिवारमा जन्मेकी चम्पा महतो दार्चुलाका रामप्रकाश हमालसंग विवाह पश्चात चम्मा हमाल बनेकी हुन् । विवाहपछि थुप्रै अभाव र अप्ठेराको सामना गरेकी चम्पालाई श्रीमानले कान्छी श्रीमतिको रुपमा भित्र्याएका थिए ।एता रामप्रकाशले सानैमा आमावुबा गुमाएका थिए । त्यसैले घरमा जेठी श्रीमतीबाहेक अरु कोही थिएन । 

सानैमा धनगढी आएकाले रामप्रकाशलाई पुख्र्यौली घरको बारेमा जानकारी नै थिएन ।उनीहरुको जोडी विवाहको केही महिनासम्म मात्रैसंगै बस्यो । श्रीमान धनगढीमा घडी मर्मत गरेर जोहो चलाइरहेका थिए । विवाहपछि उनी श्रीमानसंगै धनगढीमा बस्थिन् ।

केही समयमै पारिवारीक खटपट भयो । श्रीमान जेठी पट्टी लागे । त्यहीबाट उनी मुम्बइ पसे । यता उनी विवाहको एक वर्ष नवित्दै एक्ली भइन् । सौताले घरमा छिर्न नदिएपछि धनगढीमा अलपत्र जस्तै भइन् । ‘मलाई श्रीमानले छोडेपछि माइतीको सहारा लिने मात्रै विकल्प थियो,’ उनले भनिन्, ‘माइतिको अवस्था पनि त्यति राम्रो थिएन । जान पनि अप्ठेरो लाग्यो ।’

 सहयोग गर्ने आफन्त कोही नभएपछि माइति विना अर्को विकल्प भेटिएन । जताजतै अन्धकार जस्तै थियो उनको लागि । पैसा, सम्पत्ति तथा आफन्तको सहयोगको खडेरी भयो । ‘परिस्थितिले जता उडायो त्यतै जानुको उपाय थिएन,’ उनी भन्छिन् । पढाईलाई अगाडी बढाउने बातावरण थिएन । किशोरी उमेरमा केही गर्न खोज्दा पत्याउने आधार थिएन ।

त्यसैमा  श्रीमानले छोड्दा चम्पा गर्भवती थिइन् । यस्तो अवस्थाको विच मनमा उठेका तरंग र भोगेका समस्या उनी सम्झन पनि सक्दिनन् । आफूमाथि जस्तो सुकै बज्रपात परेपनि उनले जीवनप्रतिको हरेश खाइनन् । जीवनमा केही गर्ने अठोटका साथ २०४४ सालमा सिप विकासबाट सिलाइकटाईको तालिम लिइन् ।

एनले यसअघि पनि महिला शिल्पकलाबाट तालिम लिएकी थिइन् । निःशुल्क सिकाउने भएकाले श्रीमानले त्यहाँ भर्ना गरिदिएका थिए ।यस अघि पनि तालिम लिइसकेकी चम्पा सिलाई कटाईमा अब्बल देखिइन् । प्रशिक्षक देखी कार्यालयका कर्मचारी उनको क्षमताको तारिफ गर्न थाले । परिणाम स्वरुप उनले त्यहीँ जागिरको अवसर पाइन् । 

सिप विकास कार्यालयले उनलाई कञ्चनपुरका गाउँगाउँमा महिलालाई तालिम सिकाउन पठायो । सामान्य आम्दानी भएपनि यसले उनको जीउने आधारलाई बलियो पार्दै गयो । साथै उनको सिप र क्षमता बढाउने अवसर जुर्यो ।
 
चम्माको यो यात्रा धेरै टिकेन । कार्यक्षेत्र टाढा भएकाले बजारतिर उनलाई सजिलो हुन्थ्यो । अफिसले पनि त्यो आश्वासन दियो । सिप विकासले केही समयपछि बजारमा पनि कार्यक्रम सञ्चालन गर्यो । तर, त्यहाँ कार्यालयका सुब्बासाहेबले उनलाई भन्दा आफ्नी श्रीमती राखेपछि चम्पालाई समस्या भयो । उनले सोचेभन्दा फरक भयो ।
  ‘अफिसले मलाई पाइक पर्ने ठाउँमा पठाउँछु भनेको थियो । म कञ्चनपुर जाँदा धनगढीमा कार्यक्रम थिएन । यहाँ भएपछि मलाई राख्लान सोचेको थिएँ । सुब्बा साबले आफ्नी श्रीमति राखे । मलाई फेरि गाउँमा जान भन्न थाले ।’

अफिसले माग अनुसारको क्षेत्र नपारेपछि चम्पाले जागिर छोडिन् । आफ्नो खोल्ने र त्यही तालिम दिएर जिवीका गर्ने उनको सोच थियो । जागिर हुँदा कमाएको वाइवाह धेरै टिकेन । जागिर छोडेपछि उनलाई सहयोग होइन् उल्टै हेपाहा दृष्टिले हेर्न थाले । कमाएको पैसा खर्च चलाउनमै सकिएपछि उनी पुनः पुरानै अवस्थामा पुगिन् ।
 
केही समय उनी तनावमा परिन् । उनलाई पत्याउने मान्छे थिएन । धनगढीमा कृषि विकास बैक स्थापना भइसकेको थियो । त्यसले लघुउद्यमीलाई कर्जा तथा वित्तीय सुविधा दिन्थ्यो । तर, त्यो पनि आकाशको फल जस्तै थियो उनलाई । उनीसँग विश्वास गर्ने तथा विश्वाययोग्य कागजात र धितो थिएन । 

उनलाई नपत्याएपछि छोरीले पैसा नतिरे आफू तिर्ने सर्तमा उनका बुबा जमानी बसे । त्यसपछि चम्पासँग रहेको नागरिकता धितोमा बैकले सिलाई कटाई मेसिन उपलब्ध गरायो । मेसिन पाएपछि उनको कर्म र भूमिकामा निकै फरक आयो । यद्यपि उनले सोचेको जस्तो भने हुने अवस्थामा थिएन । एक मेसिनले के नै गर्ने र ? यस विचमा पनि चम्पाले तालिम दिन छोडिनन् । पसलबाहेक अतिरिक्त कमाइ गर्न थालिन् । पसल राम्रै चल्न थाल्यो । 

आफूबाहेक पसल चलाउने सहयोगी थिएन । चौतर्फी आफैले हेर्नुपर्ने । चम्पाको दौडधुप बढ्दै गयो । उनी पहिलाको मेसिनको पैसा चुक्ता गर्दै गइन् र बैँकले थप मेसिन उपलब्ध गराउँदै गयो । यसरी केही वर्षमै उनले सिलाइकटाई तालिम सेन्टर समेत चलाइन् । अब उनी पसल सञ्चालिकाभन्दा पनि उद्यमीको रुपमा स्थापित हुन थालिन् ।

यही क्रममा २०५७ सालमा चम्पाले व्यवसायलाई फरक धारमा लिने मोडमा पुगिन् । अनुभव, क्षमता र आर्थिक रुपले मजबुत बनेकी उनले नयाँ जापनी मेसिन ल्याएर दिनेश होजियारी स्थापित गरिन् । होजियारी स्थापना गरेपछि श्रीमानसंगको लामो विछोड यात्रा पनि तोडियो । उनका श्रीमान व्यवसायमा सघाउँने भन्दै मुम्बइबाट घर आए ।


मयाप्रेमको अगाडी सबैचिज कमजोर हुन्छ भनेजस्तै लामो समयदेखि विछोडिएको आफ्नो सम्बन्ध पुर्नजीवित हुँदा उनको खुशीको सिमा रहेन । दुवै मिलेर होजियारी उद्योगको विकास र प्रवद्र्धनमा लागे ।श्रीमानले घर तथा पसलको जिम्मेवारी सम्हाल्न थालेपछि काममा सहज भयो । ‘श्रीमान आएपछि मलाई र मेरो व्यवसायमा सहयोग गर्नथाल्नु भयो । यसले मलाई अन्य कुरामा सोच्ने र समय दिने मौका मिल्यो,’ चम्पाले भनिन् ।

आफ्नो संघर्ष यात्राको करिब २५ वर्षमा चम्मा सफल उद्यमी भएकी छिन् । उनको होजियारी उद्योग सुदूरपश्चिमको अग्रणी उद्योगको रुपमा स्थापित भएको छ । कुनै दिन सुरक्षित आश्रयको लागि भौतारिएकी वेसाहरा चम्पाको उद्योगमा अहिले ३२ जना कर्मचारी कार्यरत छन् । ‘सुदूरपश्चिमभर सामानको माग बढ्दै गएको छ,’ उनले भनिन् । 

उद्योगलाई मात्रै प्रथामिकता दिएको उनले बताइन् । सिप सिक्न चाहने र उद्यम गर्न चाहने महिलालाई मैले निशुल्क तालिम दिने गरेकी छु,’ उनले भनिन् । होजियारी उद्योगबाट वार्षिक १५ देखि २० लाख आम्दानी हुने गरेको उनी बताउँछिन् ।  एकसरो नागरिताले लिएको मेसिनबाट आफू यहाँसम्म पुगौँला भन्ने कल्पना नगरेको बताउँछिन् उनी । तर, मेहनत र लगनशीलता भयो भने असम्भव कुनै कुरा नहुने उनको ठम्याइँ छ ।

आफूले यस अवस्थामा पुग्न थुप्रै मानसिक र सामाजिक तनावको सामाना गर्नुपरेको उनी बताउँछिन् । सुदूरपश्चिममा महिलाले सिलाई कटाइ गर्दैनथे । आफूले यसको सुरुवात गर्दा निकै हेपिनु परेको उनको अनुभव छ । योसंगै उनको साहस, काम र क्षमताको प्रसंशा पनि त्यतिकै हुन्थ्यो । बुझ्ने, मेरोे वास्तविकता थाहा पाएकाहरु आफूलार्ई उत्साहित पनि गर्ने गरेको उनी बताउँछिन् ।

‘मेरो कामको प्रशंसा महिलाभन्दा पुरुषले गर्थे । वरपरका पसलका मान्छेले घरमा श्रीमतीलाई चम्पाले यस्तो काम गरिरहेकी छिन् । तिमीहरु घरमै बसिरहन्छौ । तालिम सिकेर काम गर भन्थे ’ चम्पाले भनिन् ‘यो कुरा म कहाँ तालिम लिन आउने महिलाले सुनाउँथे ।’ 

यहाँसम्म आइपुग्दा उनले दाममात्रै कमाएकी छैेनन् । महिला उद्यमशीलताको क्षेत्रममा पुर्याएको योगदानको कदर हुन थालेको छ । यसविचमा उनी नेपाल घरेलु महासंघ, कैलाली उद्योग वाणिज्य संघ, मौरीपालन व्यवसायी संघबाट उत्कृष्ट उद्यमी महिलाको रुपमा सम्मान पाइसकेकी छिन् । चम्मा आफ्नो सफलताको पछाडि आफ्नो मेहनत, संघर्ष संगै शुभेच्छुकहरुको साथ पनि रहेको बताउँछिन् । मिडिया क्षेत्रले आफ्नो कार्यमा थप उर्जा थप्ने काम गरेको बताइन् ।

चम्पाको परिवार अहिले खुशी छ । निमुखा महिलाको आँट, साहस र लगनशीलताले तितरवितर भएको घरयासी सम्बन्धको मिलान मात्रै नभई आर्थिक सम्पन्नता पनि ल्याएको छ । यसैको कमाइबाट उनले धनगढीमा दुइतले घर बनाएकी छिन् । दुई छोरा र बुहारीसहित उनको परिवार अहिले निकै सुखि र खुशी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको