सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।
सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो। यसअघि लगातार ४ खेल जितिसकेको जनकपुरको यो पहिलो हार हो। जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे। जनकपुरका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो।
सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए। यस्तै, सेफ अलि जेबले २१, इशान पान्डेले १७, ब्रेन्डन मक्मलेन ११ रन जोडेका थिए। कप्तान दीपेन्द्रसिंह ऐरी भने रनको खाता नखोल्दै आउट हुन पुगे।
जनकपुरका लागि किशोर महतोले ४ तथा अरनिको यादव र शेर मल्लले समान २ तथा हर्ष ठाकरले १ विकेट लिएका थिए।
जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस