नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजन आज निर्णायक चरणमा प्रवेश गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज पहिलो क्वालिफायर खेल सञ्चालन हुँदैछ, जसमा लिग चरणका दुई बलिया टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
लिग चरणमा सुदूरपश्चिम रोयल्सले आक्रामक र निरन्तर प्रदर्शन गर्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको थियो। सात खेल खेलेको टोलीले छ खेल जित्दै मजबुत दाबी प्रस्तुत गरेको हो। सुदूरपश्चिमले लिग चरणमा बेहोरेको एक मात्र हार विराटनगर किङ्सविरुद्धको थियो, जसले आजको खेललाई थप रोचक बनाएको छ।
विराटनगर किङ्सले पनि यस सिजन अपेक्षाभन्दा बलियो उपस्थिती जनाउँदै सात खेलमध्ये पाँचमा जित निकालेर दोस्रो स्थानमा समाप्त गरेको हो। लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भए पनि विराटनगरले निर्णायक खेलहरूमा आफूलाई सम्भाल्न सफल भएको देखिएको छ।
पहिलो क्वालिफायरमा जित निकाल्ने टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत उपाधि यात्रालाई जीवित राख्ने अवसर पाउनेछ। गत संस्करणमा फाइनलसम्म पुगेको सुदूरपश्चिम रोयल्स यसपटक पनि उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ। अर्कोतर्फ, अघिल्लो सिजन लिग चरणमै यात्रा टुंग्याएको विराटनगर यसपटक फाइनल दौडसम्म आइपुग्दा उल्लेखनीय पुनरागमन गरेको टोली बनेको छ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम टोलीमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको राम्रो संयोजन देखिन्छ। अभिनाश बोहरा, आरिफ शेख र विनोद भण्डारीजस्ता खेलाडी टोलीको मेरुदण्ड बनेका छन्। विदेशी खेलाडीमध्ये स्कट कुगेइलिन र हर्मीत सिंह टोलीसँग छन्। यसअघि खेल्दै आएका जोश ब्राउन र क्रिस लिन उपलब्ध नहुने भएपछि टोलीले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तानका मुखतार अहमदलाई समावेश गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किङ्सले अनुभवी र युवा खेलाडीको सन्तुलित टोली बनाएको छ। लोकेश बम र प्रतिश जिसीजस्ता राष्ट्रिय खेलाडीसँगै मार्टिन गुप्टिल, फाफ डु प्लेसिस, जर्ज मुन्सी, शुभम रञ्जने र सामुअल डाली हेजलेटजस्ता अन्तर्राष्ट्रिय नामहरूले विराटनगरलाई झनै प्रतिस्पर्धी बनाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस