Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार सुधारका लागि अध्यक्ष ढकालको खाका: नयाँ वित्तीय उपकरण कार्यान्वयनमा जोड

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, २१ : ३५ मा प्रकाशित

पूँजी बजार सुधारका लागि अध्यक्ष ढकालको खाका: नयाँ वित्तीय उपकरण कार्यान्वयनमा जोड

नेपाल स्टक ब्रोकर एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाललाई नीतिगत सुधारमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्षको पदभार ग्रहण गर्दै उनले धितोपत्र दलाल व्यवसायीका समस्या समाधान गर्दै व्यवसायीमैत्री वातावरण निर्माण गर्ने उद्देश्य राखेको बताए।

पदभार ग्रहण कार्यक्रममा ढकालले भने, “सरकारी नीतिगत झन्झटका कारण व्यवसायीहरूले बजेट, आर्थिक ऐन, र नीतिगत परिवर्तनबाट विभिन्न समस्या भोग्दै आएका छन्। आगामी दुई वर्षभित्र सरकारसँग सहकार्य गरेर स्टक ब्रोकर र लगानीकर्ताका दीर्घकालीन समस्या समाधान गर्न काम गरिनेछ।”

पूँजी बजारमा नयाँ सुविधा कार्यान्वयनको घोषणा

ढकालले नेपाली पूँजी बजारमा शेयर खरिद–बिक्रीमा मात्रै सीमित रहेको प्रणालीमा सुधार गर्दै नयाँ वित्तीय उपकरणहरूको कार्यान्वयनमा जोड दिने बताए। उनले मार्जिन ट्रेडिङ्ग, इन्ट्रा डे ट्रेडिङ्ग, सर्ट सेलिङ्ग, इक्विटी डेरिभेटिभ, र अन्य वित्तीय सेवाहरू लागू गर्न नेपाल धितोपत्र बोर्ड र सरकारसँग सहकार्य गरिने जानकारी दिए।

उनका अनुसार धितोपत्र दलाल व्यवसायीलाई लगानी व्यवस्थापन सेवा, एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग, र प्रत्याभूति सेवामा सक्षम बनाउने पहल गरिनेछ। साथै, डिम्याट खाता खोल्नको सीमालाई हटाएर आवश्यकता अनुसार खाता खोल्न पाउने व्यवस्था गर्न पनि कदम चालिने बताए।

व्यवसायीक वातावरण सुधारको पहल

ढकालले पूँजी बजारमा देखिएको विकृति र विसंगतिहरु समाधान गर्न सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूप्रति रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “कतिपय अवस्थामा व्यवसायी सुध्रिनुपर्ने छ भने कतिपय अवस्थामा अन्य निकायले व्यवसायीका समस्यालाई बुझ्नुपर्ने छ।”

बैंक ग्यारेन्टीको सीमा वृद्धि र सरकारी पहुँचको व्यवस्था

अहिले ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जमा बैंक ग्यारेन्टी राखी २५ गुणासम्मको कारोबार लिमिट प्राप्त गरिरहेका छन्। यसलाई ५० गुणासम्म बढाउन सम्बन्धित निकायसँग लविङ गरिने ढकालले बताए।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको कार्ड देखाएर सरकारी निकायमा सहज पहुँच पाउने व्यवस्था जस्तै स्टक ब्रोकर एशोसिएशनको कार्डलाई मान्यता दिने पहल गरिने बताए।

अध्यक्ष ढकालले आफ्ना योजना र उद्देश्यले नेपाली पूँजी बजारमा दीर्घकालीन सुधार र व्यवसायिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको