चालु आर्थिक बर्ष २०८१/८२ को पाँच महिनामा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । बिभिन्न क्षेत्रका ३१९ परियोजनामा सो बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो ।
उद्योग बिभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । त्यसमा अटोमेटिक रुटबाट १३८ परियोजनामा दुई अर्ब १३ करोड एक लाख सात हजार रुपियाँ लगानी प्रतिवद्धता आएको छ ।
सरकारले गत बैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो त्यस माध्यमबाट ५० करोड रुपियाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागको भनाई छ ।
यसैगरी कागजी प्रक्रिया अर्थात् स्वीकृत मोडलबाट १८१ परियोजनामा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार रुपियाँ बराबरको लगानी प्रतिवद्धता आएको बिभागको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधीमा ३१२ साना, चार मझौला र तीन ठुला उद्योगमा विदेशी लगानी प्रतिवद्धता आएको छ ।
यो लगानीअनुसार उद्योग स्थापना भएमा ९ हजार २०६ जनाले रोजगारी पाउने छन् । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने लगानी प्रतिवद्धता यसमा समावेश छैन । यस्तै, समीक्षा अवधिमा शेयर खरीद र सदस्यता सम्झौतामार्फत भने थप एक अर्ब ५४ करोड १२ लाख १५ हजार रुपियाँ लगानी प्रस्ताव भएको छ । यसैगरि २२ वटा प्रविधि हस्तान्तरण सम्बन्धी प्रतिवद्धता आएको तथ्यांकमा उल्लेख छ ।
पर्यटन र सूचना प्रविधि क्षेत्रमा उच्च आकर्षण
विभागका अनुसार ५ महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भने पर्यटन क्षेत्रमा रहेकोे छ । यसले विदेशी लगानीकर्ताहरु नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न धेरै आकर्षित भएको बुझिन्छ । चालु आवको ५ महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४५ प्रतिशत देखिएको छ । पर्यटन क्षेत्रका १४५ वटा उद्योगका लगानी प्रतिवबद्धता आएको हो । यस्तै, दोस्रोमा सूचना प्रविधि क्षेत्रमा ३३ प्रतिशत अर्थात् १०६ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार सेवा क्षेत्रका लागि ४० वटा अर्थात १३ प्रतिशत, उत्पादन क्षेत्रका २२ वटा अर्थात ७ प्रतिशत, कृषिका ५ वटा अर्थात २ प्रतिशत तथा पूर्वाधार क्षेत्रको १ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
उद्योग विभागका अनुसार हालसम्म कुल ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट २७७ उद्योगका लागि १० अर्ब २४ करोड ६३ लाख ३७ हजार रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ४४१ उद्योगका लागि ५ खर्ब ३० अर्ब २९ करोड ३५ लाख २३ हजार ७०५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ३७ हजार ५१४ रोजगारी सिर्जना हुने विभागको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस