अमेरिकाका राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी नेताहरूबाट हजारौं डलर मूल्यका उपहारहरू प्राप्त गरेका छन्। अमेरिकन विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति बाइडेनकी पत्नी, प्रथम महिला जिल बाइडेनलाई २० हजार अमेरिकी डलर मूल्यको ७.५ क्यारेटको हीरा उपहार दिएका छन्। यो हीरा बाइडेन परिवारले २०२३ मा प्राप्त गरेका सबैभन्दा महँगो उपहार हो।
यस बाहेक, राष्ट्रपति बाइडेनले अन्य देशका नेताहरूबाट पनि महत्त्वपूर्ण उपहारहरू प्राप्त गरेका छन्। युक्रेनी राजदूतले १४ हजार ६३ अमेरिकी डलरको ब्रोच प्रदान गरेका थिए भने इजिप्टका राष्ट्रपति र प्रथम महिलाले ४५१० अमेरिकी डलरको ब्रेसलेट, ब्रोच, र फोटो एल्बम दिएका थिए।
दक्षिण कोरियाका राष्ट्रपति सुक येओल युनले ७ हजार १ सय अमेरिकी डलर मूल्यको सम्झनामूलक फोटो एल्बम उपहार दिए। यस्तै, मङ्गोलियाका प्रधानमन्त्रीले ३ हजार ४९५ अमेरिकी डलरको मङ्गोल योद्धाको मूर्ति, ब्रुनाईका सुल्तानले ३ हजार ३ सय अमेरिकी डलरको चाँदीको कचौरा, र इजरायलका राष्ट्रपतिले ३ हजार १६० अमेरिकी डलरको स्टर्लिंग दिए।
संघीय कानूनअनुसार, कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेताहरूबाट प्राप्त उपहारहरू रिपोर्ट गर्नुपर्ने व्यवस्था छ। रिपोर्टमा उल्लेख गरिएअनुसार, यी उपहारहरू आधिकारिक प्रयोगका लागि राखिएका छन् र राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण गरिएको छ।
बाइडेन परिवारलाई २०२३ मा प्राप्त उपहारहरूको अनुमानित कुल मूल्य ४८० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ। यीमध्ये केही उपहारहरू ह्वाइट हाउसको आधिकारिक प्रदर्शनका लागि राखिएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस