मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा अस्थिरता बढेको छ। तेलको मूल्य तीव्र रूपमा बढेपछि एशियाली सेयर बजारमा सोमबार उल्लेखनीय गिरावट देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य झण्डै १७ प्रतिशतले बढ्दै प्रतिव्यारेल १०८.७३ डलर पुगेको छ। गत साता मात्र पनि ब्रेन्टको मूल्य करिब २८ प्रतिशतले बढेको थियो। त्यस्तै अमेरिकी कच्चा तेलको मूल्य १९ प्रतिशतले बढ्दै १०८.३३ डलर प्रतिव्यारेल पुगेको छ।
मध्यपूर्वमा जारी तनाव र युद्धका कारण ऊर्जा आपूर्तिमा अनिश्चितता बढेको विश्लेषकहरू बताउँछन्। विशेषगरी इरानले पूर्व सर्वोच्च नेता अली खामेनेईका छोरा मोज्तबा खामेनेईलाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारेपछि क्षेत्रीय तनाव अझ चर्किएको छ।
युद्धका कारण पर्सियन गल्फको महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ हुँदै तेल ढुवानी गर्ने ट्यांकरहरू सञ्चालनमा जोखिम बढेको छ। विश्वभर प्रयोग हुने कच्चा तेलको ठूलो हिस्सा यही मार्गबाट ढुवानी हुने भएकाले आपूर्तिमा अवरोध आउने चिन्ता बढेको हो।
बढ्दो ऊर्जा मूल्यका कारण विश्वव्यापी रूपमा जीवनयापन खर्च बढ्न सक्ने तथा केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने सम्भावना पनि बलियो भएको विश्लेषण गरिएको छ।
जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानका अनुसार हालको परिस्थितिमा तेलको मूल्य छोटो अवधिमा प्रतिव्यारेल १२० डलरसम्म पुग्न सक्ने सम्भावना छ। यदि द्वन्द्व चाँडै समाधान भएमा पछि मूल्य केही घट्न सक्ने अनुमान गरिएको छ।
उनका अनुसार तेल मूल्य उच्च स्तरमा कायम रहेमा विश्व आर्थिक वृद्धिदरमा दबाब पर्न सक्छ। यसले यस वर्षको पहिलो आधामा विश्व आर्थिक वृद्धि करिब ०.६ प्रतिशतले घटाउन सक्ने र उपभोक्ता मूल्य वृद्धिदर करिब १ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ।
तेल मूल्यको तीव्र वृद्धि र आर्थिक अनिश्चितताका कारण एशियाली सेयर बजारमा गिरावट आएको छ। अमेरिकी एसएन्डपी ५०० फ्युचर्स १.६ प्रतिशतले घटेको छ भने नास्डाक फ्युचर्स १.७ प्रतिशतले ओरालो लागेको छ।
जापानको निक्केई फ्युचर्स पनि उल्लेखनीय रूपमा घटेर ५२,४०० मा पुगेको छ, जुन शुक्रबारको बन्द मूल्यभन्दा निकै कम हो।
अर्कोतर्फ लगानीकर्ताहरूले सुरक्षित मानिने अमेरिकी डलरतर्फ आकर्षण बढाएका छन्। डलर ०.३ प्रतिशतले मजबुत हुँदै १५८.३५ येन पुगेको छ भने युरो ०.७ प्रतिशतले घटेर १.१५३७ डलरमा झरेको छ।
उता सुनको मूल्य भने ०.६ प्रतिशतले घटेर प्रतिऔंस ५,१४० डलर पुगेको छ। बजारमा अन्यत्र भएको नोक्सानी पूर्ति गर्न लगानीकर्ताहरूले नाफा बुक गर्न थालेको अनुमान गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस