इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कतारमाथि भएको इजरायली हवाई आक्रमणबारे औपचारिक माफी मागेका छन्। Reuters का अनुसार, नेतन्याहूले सेप्टेम्बर ९ मा दोहामा भएको आक्रमणबारे कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुर्रहमान बिन जसिम अल थानीसँग ह्वाइट हाउसबाटै क्षमा प्रकट गरेका हुन्।
उक्त आक्रमणमा एक जना कतारी सुरक्षा गार्डको मृत्यु भएको थियो। Channel 12 का अनुसार, इजरायलले मृतकको परिवारलाई क्षतिपूर्ति दिने सम्भावना पनि रहेको छ।
कतारको राजधानी दोहामा अमेरिकाको मध्यस्थतामा तयार गरिएको गाजा युद्धविराम प्रस्तावबारे छलफल भइरहेको समयमा इजरायलले हमास नेतृत्वलाई लक्षित गरी आक्रमण गरेको PTI ले जनाएको छ। उक्त आक्रमणमा छ जनाको ज्यान गएको थियो।
कालो धुवाँले ढाकिएको दोहाको आकाश देखिएको र कतारी अधिकारीहरूले आक्रमण भएको पुष्टि गरेका थिए। यस घटनालाई संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले कडा शब्दमा निन्दा गर्दै “सबै पक्ष स्थायी युद्धविरामतर्फ अघि बढ्नुपर्छ, विध्वंस गर्न होइन” भनेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतन्याहूबीच भेटवार्ता भइरहेको छ। ट्रम्पले गाजा शान्ति प्रस्तावबारे “धेरै आत्मविश्वासका साथ” आफ्नो पहल अघि बढाइरहेको बताएका छन्।
तेल अवीभस्थित अमेरिकी दूतावास बाहिर इजरायली नागरिकहरू जम्मा भएर नेतन्याहूलाई ट्रम्पको शान्ति प्रस्ताव स्वीकार गर्न दबाब दिन नाराबाजी गरेका छन्। “अब, अब” भन्दै उनीहरूले तत्काल युद्ध अन्त्यका लागि आह्वान गरेका थिए।
कतारमाथि भएको यो दुई वर्षदेखि जारी युद्धमा दोस्रो पटक प्रत्यक्ष आक्रमण भएको हो। ऊर्जा सम्पन्न राष्ट्र कतारले यस अवधिभर युद्ध अन्त्यका लागि महत्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस