नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका निम्ति गठित सिफारिस समितिले गएको पुस २६ गते १५ दिनको अवधि राखेर आवेदन आह्वान गरेको थियो । आवेदन दिने समय आज अन्तिम थियो ।
आवेदन दिनेमा तत्कालिन प्राधिकरणकै पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र प्राधिकरणकै निर्देशक कमलराज रेग्मी रहेका छन् ।
यस्तै, अध्यापक, पत्रकार, कानून व्यवसायी एवम् विभिन्न निजी प्रतिष्ठानहरुमा उच्च व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका शरद ओझा तथा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक रहेका दामोदर बसौलाको नाम सार्वजनिक भएको छ ।
नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनीले पनि आवेदन दिएका छन् । त्यस्तै, डा. देवराज रोका, रमण नेपाल, विनोद काजी श्रेष्ठ, विक्रान्त पाण्डे, डिम प्रसाद पौडेल, बुद्ध काजी श्रेष्ठ रहेका छन् ।
योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालयका सचिव रामप्रसाद घिमिरे सदस्य छन् भने र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझालाई राखिएको छ । उक्त समितिले पुस २६ गते एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरुले १५ दिनभित्र अर्थ मन्त्रालयमा आवेदन बुझाउन भनेको थियो ।
उक्त म्याद आज शुक्रबार सकिएको छ । अब समितिले आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि ३ जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । तिनै ३ जनामध्येबाट कोही एक जनालाई मन्त्री परिषदले प्राधिकरण अध्यक्ष नियुक्त गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस