हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारको कूटनीतिक प्रयास तीव्र बनेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन्।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजुले इरानी समकक्षीसँग हमासका अधिकारीहरूसँग सम्वाद गरी विपिनको रिहाइ सुनिश्चित गर्न आग्रह गरेकी थिइन्। इरानी विदेशमन्त्री अराघ्चीले पनि आगामी बैठकहरूमा यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिएका छन्।
इजरायल-हमास युद्धविराम पश्चात् हमासले नियन्त्रणमा रहेका बन्दीहरूको चरणबद्ध रिहाइ गरिरहेको छ। यही सन्दर्भमा नेपाल सरकारले विपिनलाई सुरक्षित रूपमा मुक्त गराउन बहुपक्षीय कूटनीतिक प्रयासलाई निरन्तरता दिएको छ।
यसअघि, मन्त्री आरजुले इजिप्टका विदेशमन्त्रीसँग पनि कुराकानी गर्दै हमाससँगको वार्तामा नेपालका तर्फबाट विशेष चासो राख्न अनुरोध गरेकी थिइन्। साथै, उनले कतार र इजिप्टलाई मध्यस्थकर्ताका रूपमा प्रयोग गर्दै नेपाल सरकारको धारणा स्पष्ट पारिरहेकी छन्।
नेपालका लागि इजरायली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि इजरायली राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गरी विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेका छन्।
नेपाल सरकारले गत वर्षदेखि नै संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्थाहरू र क्षेत्रीय मञ्चहरूमा यो विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ। सरकार कूटनीतिक तहबाट विपिनको शीघ्र रिहाइ सुनिश्चित गर्न प्रयासरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस