Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा र NYEF चितवनको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न

अर्थ संसार

शनिबार, २६ माघ २०८१, २१ : ४३ मा प्रकाशित

कामना सेवा र NYEF चितवनको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न

चितवन, कामना सेवा विकास बैंक र नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवनको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। व्यवसायी र बैंकबीचको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिब ६० भन्दा बढी युवा व्यवसायीको सहभागीता रहेको थियो।

कार्यक्रममा पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले मध्यस्थता गर्नुभएको थियो। वक्ताका रूपमा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्की, नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष तथा व्यवसायी सूर्यभक्त अधिकारी सहभागी भएका थिए।

कार्यक्रममा एफसिए विमन कार्कीले बैंक तथा व्यवसायीबीच मतभेद हुनसक्ने भए पनि कानुनी मापदण्ड पालना नगर्ने व्यवसायीहरू आर्थिक दवाबमा पर्ने बताउँदै व्यवसाय सञ्चालन गर्दा नेपाल राष्ट्र बैंक तथा बैंकहरूले निर्धारण गरेका नियमहरू पालना गर्नुपर्नेमा जोड दिनुभयो। साथै, वित्तीय विवरणहरूको पारदर्शिता कायम राख्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।

नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष तथा युवा व्यवसायी सूर्यभक्त अधिकारीले व्यवसायीहरू कोभिड-१९ को असरबाट माथि उठ्न नपाउँदै नियमनकारी निकायका विभिन्न नीतिहरूले थप समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो। उहाँले साना तथा मझौला व्यवसायीहरूलाई बैंकहरूले विशेष संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले नियमन तथा वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरू अग्रसर हुँदा व्यवसायीहरूलाई असहज महसुस भए पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले कोभिड-१९ पछि होटल व्यवसायहरू अझै थला परेको अवस्थामा बैंकहरूले विशेष माया गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाई, कोभिड-१९ पश्चातको कर्जा विस्तार, ढिलो सडक निर्माण, युवा जनशक्तिको विदेश पलायन जस्ता समस्याका कारण व्यवसायमा मन्दी आएको भन्दै यसतर्फ नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले ध्यान दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा युवा व्यवसायी अर्जुन रानाभाट, निरञ्जन न्यौपाने, पत्रकार दिपेन्द्र अधिकारी लगायतले वक्ताहरूलाई आफ्ना जिज्ञासा राखेका थिए। नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य मञ्चका द्वितीय उपाध्यक्ष सन्तोष कडेलले दिनुभएको थियो।

कामना सेवा विकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। समापन मन्तव्य राख्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बैंक र व्यवसायीबीचको सुमधुर सम्बन्धले बैंकिङ सेवा तथा उद्योग, व्यवसायलाई सफल बनाउने भएकाले आगामी दिनमा थप सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको