प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाएर अस्थिरतामा मलजल नगर्न आग्रह गरेका छन् ।
उनले अबको १७ महिना मात्रै सरकारको नेतृत्व गर्ने र त्यसपछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।
सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘कसले कतै गएर मिलिदेला भन्ने कुनै आशंका छैन । बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताकाा साथ डगमगाएको विश्वास पनि जगाएर लाग्नु छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
उनले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह गरे ।
‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो । मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘१७ महिनापछि मैले राजीनामा दिन्छु शेरबहादुरजीलाई हस्तान्तरण गर्छु, कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ । केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन । आफैं छाड्छ बेला पुगेपछि ।’
साथै, उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने बताए ।
‘१७ महिनालाई तोप हानेपनि सरकार ढल्दैन । केही गरेपनि सरकार ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाई छ के ढल्नु नि ? १७ महिनापछि आफैं राजीनामा दिन्छु शेरबहादुरजीलाई दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस