नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ ।
फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । नेपाल दोस्रोपटक एफएटीएफको ग्रे लिस्टमा परेको हो। यसअघि सन् २००९ देखि २०१४सम्म नेपाल ग्रेस लिस्टमा परेको थियो।
एफएटीएफ प्रेसिडेन्ट एलिजा डे अन्दा मड्राजोले नेपाली समयानुसार शुक्रबार साँझ ८ः१५ बजे पत्रकार सम्मेलनमार्फत नेपाल ग्रे लिस्टमा परेको घोषणा गर्ने छिन्। ग्रे लिस्टमा नेपालसँगै लाओस पनि परेको छ। फिलिपिन्स भने २ वर्षपछि ग्रे लिस्टबाट बाहिरिएको छ।
ग्रे लिस्टमा परेपछि नेपालले २ वर्षको समयावधि गर्नुपर्ने कामको सूची एफएटीएफले निर्धारण गर्नेछ। उसले निर्धारण गरेका काम सन्तोषजनक रुपमा पूरा गरेमा नेपाल ग्रे लिस्टबाट बाहिरिनेछ। ती काम सन्तोषजनक नभएमा नेपाल ब्ल्याक लिस्टमा पर्ने सम्भावना रहन्छ। नेपालमा मूल्यांकनमा भ्रष्टाचार, करछली, वित्तीय अपराध र हुन्डी कारोबार खुलेआम रुपमा नै भइरहेको एफएटीएफको निष्कर्ष छ।
जी सेभेन राष्ट्र मिलेर बनाएको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) नामक संस्था अन्तर्राष्ट्रिय अन्तरसरकारी निकाय हो। यसले सम्पत्ति शुद्धीकरण निवारणमा नीतिगत तहमा काम गर्दै आएको छ। दोस्रो प्लेनरीमा नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट(एफआईयू)का सदस्य हरि नेपालले प्रतिनिधित्व गर्दै सहभागी छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस