Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको गभर्नर बन्न दौडधुप,क-कसको सम्भावना बलियो ?

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १३ : ०५ मा प्रकाशित

राष्ट्र बैंकको गभर्नर बन्न दौडधुप,क-कसको सम्भावना बलियो ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल सकेर चैत २५ गते अवकाश पाउँदैछन् । योसँगै नयाँ गभर्नरका लागी आकांक्षीहरुले भने राजनीतिक लबिङ तीब्र बनाएका छन् । 

सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिना अगाडि नै सिफारिस समिति बन्छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको संयोजकत्वमा केन्द्रीय बैंकको गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गर्छ । जुन समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । 

गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्ने तीन जना मध्ये हालका डेपुटी गभर्नरमध्येबाट १ जना हुनैपर्ने व्यवस्था छ । सिफारिस भएका तीन नाममध्ये मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्छ । 

को को छन प्रतिस्पर्धामा ?

वर्तमान गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा गभर्नर बन्ने आकांक्षीहरूको दौडधुप तथा बेचैनी पनि बढ्दो छ ।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नर सिफारिस गर्नैपर्ने भएकाले गभर्नर पदका मुख्य आकांक्षी राष्ट्र बैंककै दुवै डेपुटी गभर्नर हुने नै भए । त्यसैले गभर्नरको लाइनमा अहिलेका डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र रहेका छन् । उनीहरु दुवै एमालेनिकटका व्यक्ति हुन् ।  

यस्तै, १८ औं गभर्नरको अर्का बलिया प्रतिस्पर्धी राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठ छन् । अर्थमन्त्री विष्णु पौडेलनिकट मानिएका श्रेष्ठले कार्यकारी निर्देशकको रुपमा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका श्रेष्ठलाई राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा नेकपा एमालेको सरकारले नै राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । यस्तै, राष्ट्र बैंककै कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट पनि गभर्नर पदका लागी दौडधुपमै देखिन्छन् । 
यीबाहेक गभर्नर पदका आकांक्षीमा राष्ट्र बैंककै सञ्चालक सदस्य रविन्द्र पाण्डे पनि छन्। । नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि गभर्नर पदका लागी दौडधुपम छन्।

यस्तै, नेकपा एमालेनिकट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि गभर्नरका लागि चर्चामा छन्।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको नाम पर्ने संभावना पनि छ । उनी कांग्रेस संस्थापनका अत्यन्तै नजिक मानिन्छन्। त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष विश्व पौडेलको संभावना रहेको छ । 
यस्तै लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख सुशील भट्ट पनि गभर्नरका लागि सम्भावित व्यक्ति मानिन्छन्। 

यसबाहेक पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रमण नेपाल तथा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री पनि सम्भावित उम्मेदवार मानिएका छन्।

गभर्नर बन्न कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा राष्ट्र बैंक संचालकको योग्यता सम्बन्धि व्यवस्था गरिएको छ । सो दफाको उपदफा (ग) मा ‘आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनभुव हासिल गरेको’ व्यक्ति मात्रै नेपाल राष्ट्र बैंकको संचालक हुन योग्य हुने उल्लेख गरिएको छ ।

सोही उपदफामा ‘कार्य अनुभव’को स्पष्टीकरण पनि दिइएको छ । स्पष्टीकरणमा भनिएको छ– ‘यस खण्डको प्रयोजनको लागि ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा कुनै श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।’

नयाँ गभर्नर छनौटको प्रक्रियासम्म एमाले नेतृत्वकै सरकार रह्यो, अर्थमन्त्री पनि एमालेकै भागमा रहिरह्यो र भागबण्डामा गभर्नर एमालेकै भागमा पर्यो भने एमाले निकट दाबेदारहरुमध्ये एक गर्भनर बन्ने सम्भावना देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको