मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा आज एक विशेष समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई (BHIM UPI) सेवा शुभारम्भ गरिएको छ।
उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्। यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। साथै, यो सेवा क्रस-बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू को उपस्थिति रहेको थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने बताए। उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस