Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक लगानी प्रतिबद्धता-८ महिनामा ४४ अर्ब ६६ करोड,कुन क्षेत्रमा कति ?

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १० : ४४ मा प्रकाशित

वैदेशिक लगानी प्रतिबद्धता-८ महिनामा ४४ अर्ब ६६ करोड,कुन क्षेत्रमा कति ?

प्रत्यक्ष वैदेशिक लगानीका लागि औपचारिक आह्वानको तीन दशक भन्दा बढीको तथ्यांकले हरेक वर्ष वैदेशिक लगानीको प्रतिबद्धता बढिरहेको देखाउँछ। 

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्म नेपालमा ४४ अर्ब ६६ करोड रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागमा फागुनसम्म ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता ४२७ वटा उद्योगका लागि आएको छ।

विभागका अनुसार फागुन महिनामा मात्रै ४० उद्योग स्थापनार्थ १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक प्रतिबद्धता आएको छ।

कुन क्षेत्रमा कति ?

फागुन मसान्तसम्म सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । फागुनसम्म सेवा क्षेत्रमा २२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँबराबर प्रतिबद्धता आएकोे छ । जुन चालु आर्थिक वर्षमा प्राप्त भएको कुल प्रतिबद्धताको ५४.१३ प्रतिशत हिस्सा हो।

त्यस्तै पर्यटन क्षेत्रमा १७ अर्ब ९० करोड ७५ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा २ अर्ब ६३ करोड २० लाख रुपैयाँ, ऊर्जामूलकमा २ करोड ५५ लाख रुपैयाँ, कृषिमूलकमा ७६ करोड १० लाख रुपैयाँ र पूर्वाधारमूलकमा २ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना उद्योगमा आएको छ। जसअनुसार साना ४१५ वटा उद्योग छन्। त्यस्तै मझौला ४ वटा र ४ चारवटा उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ। 

यसरी बनेको थियो नेपालमा वैदेशिक लगानीको वातावरण

२०४८ मा प्रजातन्त्र पुर्नबहाली भएसँगै नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गयो।

सोही वर्ष नेपालले पहिलोपटक लगानी सम्मेलन पनि गर्यो। लगानीका लागि औपचारिक आह्वानका साथ भएको उक्त सम्मेलनसँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को वातावरण बन्दै गएको देखिन्छ। नेपाल राष्ट्र बैंकको अभिलेखअनुसार त्यसअघि अनौपचारिक रूपमा २०३८ सालदेखि नेपाली उत्पादन उद्योगमा विदेशीहरूले लगानी गरेका थिए। तथ्यांकअनुसार त्यो समय नेपालमा १९ करोड हाराहारी मात्रै वैदेशिक लगानी थियो।

पञ्चायती व्यवस्थाको अन्त्यसँगै तत्कालीन सरकारले नेपालमा पनि उदार अर्थतन्त्रको सुरुवात भएको अन्तर्राष्ट्रिय जानकारी दिने भन्दै प्रत्यक्ष वैदेशिक लगानीकालागि आह्वान गरेको हो। सो औपचारिक आह्वानपछि २०४८ सालमा ८६ करोड वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको