नेपाल पत्रकार महासंघले राजधानीमा भएको आन्दोलनका क्रममा सञ्चारगृहहरूमा भएको तोडफोड, आगजनी तथा पत्रकारमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले प्रेसमाथि हमला हुनु निन्दनीय र भर्त्सनायोग्य रहेको भन्दै दोषीहरूलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै गरिएको भनिएको आन्दोलनमा सहभागी अराजक समूहले काठमाडौंको तीनकुनेस्थित सञ्चारगृहहरूमा तोडफोड र आगजनी गरेको थियो। यस क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको महासंघले पुष्टि गरेको छ। साथै, अन्नपूर्ण मिडिया ग्रुपको भवनमा क्षति पुर्याइएको, कान्तिपुर टेलिभिजनको कार्यालयभित्र जबरजस्ती प्रवेशको प्रयास गरिएको र सुरक्षाकर्मीले रोक्दा ढुंगामुढा गरिएकाले समाचार कक्षमा आतंक सिर्जना भएको महासंघले जनाएको छ। यस्तै, हिमालयन टेलिभिजनको सवारी साधनसमेत तोडफोड गरिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति गम्भीर बन्न आग्रह गरिएको छ। महासंघले प्रेसमाथि भएका हमलामा संलग्न जो कोहीलाई कानुनी कठघरामा उभ्याउन जोडदार माग गर्दै, क्षति पुगेका सञ्चारमाध्यमहरूलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ।
महासंघले लोकतन्त्र र प्रेसविरोधी गतिविधिहरू नदोहर्याउन चेतावनी दिँदै यस्ता घटनाहरू पुनः दोहोरिए कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ। साथै, महासंघले मृतक पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घटनाको गहिरो छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस