टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ व्यापार सल्लाहकार पिटर नव्यारोसँगको विवादलाई सार्वजनिक रूपमा झन् चर्काएका छन्। नव्यारोले मस्कको व्यवसायिक मोडलमाथि टिप्पणी गरेपछि मस्कले उनलाई "साँच्चिकै मूर्ख" र "ईंटको बोराभन्दा पनि कमबुद्धि" भएको भन्दै आलोचना गरे।
ट्रम्पका एक प्रमुख सहयोगीका रूपमा चिनिएका एलन मस्कले हालै ट्रम्प प्रशासनको भन्सार नीति (ट्यारिफ) प्रति असन्तुष्टि जनाएका थिए। नव्यारोले मस्कलाई "कार निर्माता होइन, कार असाम्ब्लर" को संज्ञा दिँदै भने, "उनी विदेशी पार्टपुर्जा ल्याएर कार असाम्बल गर्ने व्यक्ति हुन्।"
सीएनबीसीलाई दिएको अन्तर्वार्तामा नव्यारोले भने, "हामीलाई थाहा छ एलन मस्क एक ‘कार पर्सन’ हुन्। तर उनी निर्माता होइनन्। टेस्लाका धेरै पार्टपुर्जाहरू जापान, चीन र ताइवानबाट ल्याइन्छन्। उनलाई सस्तो विदेशी सामान चाहिन्छ।"
यता, एलन मस्कले इटालीमा आयोजित लीग पार्टीको एक कार्यक्रममार्फत अमेरिकासँग युरोपबीच शून्य भन्सार लागू गरी स्वतन्त्र व्यापार क्षेत्र बनाउने प्रस्ताव अघि सारे। ट्रम्पले करिब ६० देशमाथि भारी भन्सार शुल्क घोषणा गरेपछि मस्कको यस्तो प्रतिक्रिया आएको हो।
मस्कले आफ्नो सामाजिक सञ्जाल 'X' मा पिटर नव्यारोको शैक्षिक पृष्ठभूमिमाथि पनि कटाक्ष गरे। उनले नव्यारोको हार्वार्डको अर्थशास्त्र पीएचडीलाई 'ज्ञानभन्दा घमण्डको स्रोत' भन्दै व्यंग्य गरे। जवाफमा नव्यारोले मस्कमाथि ‘विदेशी सस्तो पार्टपुर्जालाई प्राथमिकता दिने’ आरोप लगाए।
यसैबीच, ट्रम्पको राष्ट्रपति उम्मेदवारी समर्थन गरेका अरबपति लगानीकर्ता बिल आक्मानले पनि भन्सार नीति कार्यान्वयनमा केही समय रोकिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भने, "३०, ६० वा ९० दिनको विरामले अमेरिकी कम्पनीहरू र सर्वसाधारणमाथि पर्ने गम्भीर असर रोक्न सकिन्छ।"
उनका अनुसार ‘अन्यायपूर्ण व्यापार अभ्यास’ विरुद्ध भन्सार उपयोग गर्नु उपयुक्त भए पनि, सम्झौताको समय नदिई लागू गर्दा अनावश्यक आर्थिक क्षति हुनसक्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस