Like us!
Follow us!
Connect us!
Watch us!

डा.जगमानको घोषणा - वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौं

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १६ : ०८ मा प्रकाशित

डा.जगमानको घोषणा - वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौं

 राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने पनि बताए ।  

गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को-को आउनुहुन्छ आउनुस् ।’

आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे ।

गुरुङले थपे, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ ।’

तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।

‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको