अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावना बलियो भएको दाबी गरेका छन्। उनले दुबै पक्ष “सम्झौताका धेरै नजिक” पुगेको उल्लेख गर्दै अब उच्चस्तरीय वार्ताबाट युद्ध अन्त्यको घोषणा हुन सक्ने संकेत दिएका छन्।
यो टिप्पणी ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी दूत विटकोफबीच भएको तीन घण्टा लामो बैठकपछि गरेका हुन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै लेखे, “आजको वार्ता सफल रह्यो। दुबै पक्षले अब उच्चस्तरीय बैठक गरी यसलाई अन्त्यतिर लैजानुपर्छ। अधिकांश मुख्य विषयमा सहमति भइसकेको छ। रक्तपात अब रोक्नु पर्छ। यो निर्दयी युद्धको अन्त्यका लागि हामी जहाँ आवश्यक पर्छ, त्यहाँ सहयोग गर्न तयार छौं।”
रुसी पक्षबाट क्रेमलिनका वरिष्ठ विदेश नीति सल्लाहकार युरी उशाकोभले पनि यो बैठकलाई “रचनात्मक र उपयोगी” भनेका छन्। उनले पत्रकारहरूसँग भने, “यस संवादले रुस र अमेरिकाबीचको दृष्टिकोण युक्रेन मात्र होइन, अन्य अन्तर्राष्ट्रिय मुद्दामा पनि नजिक ल्याएको छ। युक्रेनी संकट सन्दर्भमा दुबै देशबीच प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने सम्भावना बारे मुख्य छलफल भएको थियो।”
युक्रेन र रुसबीच २०२२ को सुरुवाती महिनामा केही प्रत्यक्ष वार्ता भए पनि त्यसयता कुनै औपचारिक संवाद भएको छैन।
यता, ट्रम्पले हालै टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “क्रिमिया अब रूसकै हुनेछ। जेलेन्स्कीलाई पनि थाहा छ, सबैलाई थाहा छ – त्यो लामो समयदेखि उनीहरूसँग छ।” क्रिमिया २०१४ मा रुसले कब्जा गरेको थियो।
यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको उक्त भनाइबारे टिप्पणी गर्न अस्वीकार गरे। तर उनले पहिलेदेखिकै अडान दोहोर्याउँदै भने, “युक्रेनी भूभागलाई रुसी कब्जाका रूपमा मान्यता दिनु हाम्रो लागि रातो रेखा हो।”
रुस–युक्रेन युद्धले विश्व राजनीतिक तथा आर्थिक सन्तुलनमा गहिरो प्रभाव पारेको छ। यस्तो अवस्थामा युद्ध अन्त्यको सम्भावनाबारे आएका यस्ता सकारात्मक संकेतहरूले अन्तर्राष्ट्रिय बजार, कूटनीति र शान्तिका प्रयासहरूलाई थप गति दिने अनुमान गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस