अर्थ मन्त्रालयले समग्रमा मुलुकको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ ।
अर्थ मन्त्रालयका अनुसार सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन्। अर्थ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा भनिएको छ– ’अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’ बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकांकमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायत उल्लेख गरेको छ ।
बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायत उल्लेख छ । ‘सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन्’, बुलेटिनमा भनिएको छ।
आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको राजस्व परिचालन १२.७ प्रतिशत र कुल खर्च ४.९४ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक ऋण २०८१ असारमसान्तको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको कुल राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ खर्ब ३९ अर्व ५ करोडको तुलनामा १२.७ प्रतिशतले वृद्धि भई ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व र गैरकर राजस्वको अंश क्रमशः ८८.७ प्रतिशत र ११.३ प्रतिशत रहेको छ । यस अवधिमा अन्य प्राप्ति सहित कुल प्राप्ति ७ खर्ब २९ अर्ब ६६ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म उच्च दरले वृद्धि भएको राजस्व आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १४.९ प्रतिशतले घटेको थियो । तत्पश्चातका आर्थिक वर्षमा क्रमशः सुधार हुँदै चालु आर्थिक वर्षको पहिलो ८ महिनामा राजस्व वृद्धिदर १२.७ प्रतिशत रहेको अर्थ मन्त्रायले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको कुल खर्च ८ खर्ब १ अर्ब ५८ करोडको तुलनामा ४.९४ प्रतिशतले वृद्धि भई ८ खर्ब ४१ अर्ब १५ करोड पुगेको छ । यस अवधिमा चालु खर्चमा सीमान्त दरले वृद्धि, पूँजीगत खर्चमा न्यून दरले वृद्धि र वित्तीय व्यवस्था तर्फको खर्चमा भने उच्च दरले वृद्धि भएको छ ।
कुल खर्चमध्ये चालु खर्च ६९.६ प्रतिशत, पूँजीगत खर्च ९.८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २०.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो खर्च क्रमशः ७२.६ प्रतिशत, १०.१ प्रतिशत र १७.२ प्रतिशत रहेको थियो । यस अवधिको चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चमा क्रमशः ०.६ प्रतिशत, १.७ प्रतिशत र २५.१ प्रतिशतले वृद्धि भएको छ । व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढेसँगै करको दायरा विस्तार भएको छ । आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्म ४ लाख ९४ हजार ८ सय ६३ स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ५ लाख ११ हजार २ सय ३९ करदाता थप भई कुल संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३०.१ प्रतिशत, ०.५ प्रतिशत र ६९.४ प्रतिशत रहेको छ । यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७ सय ७१ र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख २३ हजार ६ सय ७२ पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ’वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भई २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख पुगेको छ । कुल सहायता प्रतिवद्धतामध्ये अनुदानको अंश २५.७ प्रतिशत रहेको छ भने ऋणको अंश ७४.३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिवद्धता रु. १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रहेको थियो । कुल सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी रकम ऊर्जा क्षेत्रमा २५.४ प्रतिशत प्राप्त भएको छ भने सबैभन्दा कम रकम सुशासन क्षेत्रमा ०.२ प्रतिशत प्राप्त भएको छ ।
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ दुवै समूहको मुद्रास्फीति घटेको छ । २०८१ को फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको साउन देखि फागुन महिनासम्मको औसत मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । जुन वार्षिक लक्ष्यको सीमाभित्र रहेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७.७ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय ९.९ प्रतिशतले वृद्धि भएको छ ।
कुल वस्तु आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतको उच्च दरले वृद्धि भएको छ । निर्यात व्यापारको आकार सानो हुँदा व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको संख्या समेत गत वर्षको तुलनामा वृद्धि भएको छ । साथै, विप्रेषण आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ । पर्यटन आगमनमा १.९ प्रतिशतले वृद्धि भएको छ । विदेशी मुद्रा सञ्चिति बढेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् । अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस