Like us!
Follow us!
Connect us!
Watch us!

मूल्य निर्धारणको दबाब: संघले माग्यो व्यवसायमैत्री कानुनी समाधान

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, ०७ : ४३ मा प्रकाशित

मूल्य निर्धारणको दबाब: संघले माग्यो व्यवसायमैत्री कानुनी समाधान

नेपाल समुद्रपार निकासी पैठारी संघले वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने कानूनी प्रावधानले व्यवसायमा थपिएको जटिलता प्रति वाणिज्य, आपूर्ति तथा उपभोक्तासम्बन्धी मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ।

संघका प्रथम उपाध्यक्ष अनिलकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री भण्डारीलाई भेट गरी एमआरपी अनिवार्यको प्रावधान कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्याहरूबारे जानकारी गराउँदै सहजीकरणका लागि आग्रह गरेको हो।

प्रतिनिधिमण्डलका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा २ (च) अनुसार बिक्रीका लागि बजार पठाइने वस्तुमा मूल्य, ब्याच नम्बर, उत्पादन मिति लगायतका विवरण खुल्ने लेबल टाँस्नुपर्ने व्यवस्था गत चैत २० गतेदेखि अनिवार्य गरिएपछि व्यवसायीहरू जटिलतामा परेका छन्।

संघको भनाइमा ढुवानी भाडा क्षेत्र र समय अनुसार फरक पर्ने भएकाले एउटै वस्तुमा एउटै एमआरपी तोक्न कठिन छ। त्यस्तै, कानूनमा एउटै वस्तुमा दुई/तीन थरी एमआरपी तोक्न मिल्ने विषयमा स्पष्टता नरहेको तथा कुनै वस्तु कुन ठाउँमा कति माग हुन्छ भन्ने जानकारी नभएकाले आयातकर्ता वा उत्पादकका लागि मूल्य निर्धारण अझै चुनौतीपूर्ण हुने संघको जिकिर छ।

विदेशबाट आयात हुने वस्तुमा इकाइ स्पष्ट नभएको, लेबल टाँस्न असहज हुने र विदेशी आपूर्तिकर्ताले सानो बजारका लागि लेबलिङको माग नमान्ने विषय पनि संघले उठाएको छ। साथै, भन्सार कार्यालयहरूले उच्च एमआरपीलाई आधार मानेर वस्तुको मूल्यांकन गर्दा व्यवसायीहरूले वस्तु छुटाउनै नसक्ने अवस्था देखिएको संघको भनाइ छ।

संघले खानेकुरा, औषधि र अत्यावश्यक वस्तु बाहेक अन्य वस्तुमा एमआरपी अनिवार्य नगर्न आग्रह गर्दै लागत वृद्धि र कारोबारमा असर पर्ने चेतावनीसमेत दिएको छ।

जवाफमा मन्त्री भण्डारीले उपभोक्ताको हितलाई ध्यानमा राखेर एमआरपी अनिवार्य गरिएको बताए। यद्यपि, व्यवसायमा देखिएको जटिलता समाधान गर्न मन्त्रालय सधैं तयार रहेको भन्दै उहाँले संघलाई मन्त्रालयका अधिकारीहरूसँग बुँदागत छलफल गर्न सुझाव दिनुभयो। त्यसपछि आवश्यक निर्णय लिने संकेत पनि उहाँले गर्नुभयो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको