पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रबार) दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। पत्रकार सम्मेलनमा उनले हालै एमालेले लिएको निर्णय र आफ्नो आगामी रणनीति सार्वजनिक गर्ने तयारी गरेकी छन्।
७४ औं मदन जयन्तीको दिन असार १४ गते पूर्व राष्ट्रपति भण्डारीले सार्वजनिक रुपमा सक्रिय राजनीतिमा पुनरागमनको संकेत दिएकी थिइन्। तर त्यसको एक महिना नपुग्दै नेकपा एमालेले उनको राजनीतिक यात्रामा ‘ब्रेक’ लगाउने निर्णय गरेको छ। गत मंगलबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरणसमेत रोक्ने निर्णय गर्दै उनलाई औपचारिक रूपमा राजनीतिक गतिविधिबाट टाढा राख्ने रणनीति अपनाएको छ।
एमालेको यो निर्णयलाई भण्डारीले राजनीतिक मात्रै होइन, कानुनी रूपमा पनि चुनौती दिने तयारी थालेकी छिन्। यस्तै विषयमा धारणा राख्न उनले आजको पत्रकार सम्मेलन आयोजना गरेकी हुन्। पूर्व राष्ट्रपतिले आफ्ना निकटस्थ नेता, कार्यकर्ता र समर्थकहरूलाई समेत कार्यक्रममा उपस्थित हुन आह्वान गरेकी छन्।
भण्डारी पक्षले पार्टीभित्रैको यो निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीको योजनाबद्ध चालको रूपमा हेरेको छ। एमाले नेतृत्वबाट आफूलाई रोक्न खोजिएको भन्दै उनी प्रतिकारको मोडमा गइसकेकी छन्। भण्डारीको सक्रियताले नयाँ राजनीतिक समीकरण निर्माणको संकेत देखिएको छ।
यसैबीच, एमालेभित्र पनि उक्त निर्णयलाई लिएर मतभेद देखिएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाजस्ता नेताहरूले उक्त निर्णयप्रति असहमति जनाइसकेका छन्। उनीहरू भण्डारीसँग संवादमा रहेको र राजनीतिक विकल्पको खोजी भइरहेको बुझिएको छ।
आजको पत्रकार सम्मेलनमा भण्डारीले राजनीतिक रुपमा आफ्नो भविष्यको दिशा खुलाउने अनुमान गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस