नेपालमै पहिलो पटक पिभीसी, एचडिपीई, र सिपीभिसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको सुमेरु पोलिमर्सले सार्वजनिक सेयर निष्कासनको तयारी सुरु गरेको छ ।
कम्पनीले पूँजी विस्तारका लागि प्रोस्पेरिटी भेञ्चर्ससँग रणनीतिक साझेदारी गर्दै लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
वि. सं. २०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति न.पा. वडा नं. ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी चालु आर्थिक वर्षमा पब्लिक कम्पनीमा परिणत भई सकेको छ । हाल १० करोड चुक्ता पूँजी भएको यस कम्पनीले उत्पादन क्षमता वृद्धि संगसंगै जारी पूँजी समेत वृद्धि गरी २७ करोड पु-याई जारी पूँजीको ३० प्रतिशत अर्थात ८ करोड १० लाख रकम बराबरको सेयरको आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना राखेको छ ।
उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरिरहेको यस कम्पनीले चालु आर्थिक वर्ष भित्रमा नयाँ व्यक्ति तथा संस्थागत लगानी मार्फत ८ करोड ९० लाख थप पूँजी जुटाई संस्थापक समूहको सेयर स्वामित्व १८ करोड ९० लाख पु-याउने तयारीका साथ प्रोस्पेरिटी भेञ्चर्ससंग लगानी गर्ने, लगानीकालागि सहजीकरण गरिदिने तथा सावर्जनिक निष्काशनका विषयमा कम्पनीलाई प्रारम्भिक परामर्श दिने कार्यकालागि समझदारीपत्रमा कम्पनीका प्रबन्ध निर्देशक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका प्रबन्ध निर्देशक कमल प्रसाद नेपाल बीच सम्झौतामा हस्ताक्षर भएको हो ।
दिवश घिमिरे कम्पनीको स्थापनाकालदेखि नै प्रमुख प्रवद्र्धकका रूपमा काम गरिरहेका छन् भने कमल प्रसाद नेपाल बैंकिङ र क्यापिटल मार्केट क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव बोकेका वरिष्ठ व्यवसायी हुन् । उनले विगतमा १४ वर्षसम्म एनएमबी क्यापिटल लिमिटेडमा महाप्रबन्धक पदसम्म काम गरेका थिए ।
विगत तीन वर्षदेखि वार्षिक औसत २१ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको सुमेरु पोलिमर्स ले पूँजी संकलनपछि उत्पादन वृद्धि र बजार विस्तार गर्दै आउँदो आर्थिक वर्षमा वार्षिक कारोबार ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । अहिले कम्पनीले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आफ्नो बजार विस्तार गरिसकेको छ भने आगामी वर्षहरूमा ७ वटै प्रदेशमा कारोबार विस्तार गर्ने योजना बनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ ११८ रुपैयाँ र प्रति सेयर आम्दानी ८.२४ रुपैयाँ रहेको छ । विद्यमान कम्पनी तथा धितोपत्रसम्बन्धी कानुनअनुसार कम्पनी योग्य ठहर भएमा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस