प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले हालसालै सार्वजनिक भएको प्रहरी कर्मचारीबीचको कुटपिट घटनालाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्।
उनले भने, 'ड्यूटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झगडा गर्ने र हातपात गर्ने जस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने कुरा हो।'
आईजीपी थापाले यो घटना संगठनको इज्जत र मर्यादामा गम्भीर धक्का पुग्ने कुरा भएको भन्दै यस प्रकारका व्यवहारलाई रोक्नका लागि कठोर कदम चाल्ने कुरा पनि स्पष्ट पारेका छन्। उनले सार्वजनिक स्थानमा, विशेष गरी पब्लिकको अगाडि, उच्च दर्जाका अफिसरले सानो दर्जाका कर्मचारीमाथि हातपात गर्नु 'मर्यादाहीन र लज्जास्पद' रहेको र यसलाई सहन असम्भव रहेको बताएका छन्।
यसका साथै, आईजीपी थापाले आगामी जेठ १५ गते राजावादी प्रदर्शनको सन्दर्भमा पनि सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएका छन्। उनले उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई हाइ अलर्ट अवस्थामा रहन भनेका छन् र प्रदर्शनको क्रममा कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नगर्ने चेतावनी दिएका छन्।
'कानूनको कार्यान्वयन, जनताको सुरक्षा र जनजीवनलाई सहज बनाउन महत्त्व दिनुहोस्,' आईजीपी थापाले प्रहरीलाई आह्वान गरेका छन्।
यसैगरी, आईजीपी थापाले प्रहरी संगठनको आन्तरिक कडाइ र अनुशासनको बारेमा पनि जोड दिँदै भने, 'गलत काम गर्ने प्रहरी कर्मचारीलाई विधिअनुसार सजाय हुनेछ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस