Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको टिप्पणी : "बाबुराम सबैभन्दा बुद्धि नभएका डाक्टर"

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, ११ : १५ मा प्रकाशित

प्रचण्डको टिप्पणी : "बाबुराम सबैभन्दा बुद्धि नभएका डाक्टर"

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कटाक्ष गरेका छन्। बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनेर आलोचना गरेका हुन्।

पार्टी एकता सम्भावनाबारे पत्रकारले राखेको प्रश्नमा प्रचण्डले भने, “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?”

उनले अघिल्लो निर्वाचनमा गोरखाबाट चुनाव लड्नुको कारण पार्टी एकताको योजना भएको तर भट्टराईको विचार परिवर्तनका कारण एकता सम्भव नभएको बताए। “गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले पार्टी एउटै बनाउने भनिएको थियो। तर उहाँले कम्युनिस्टको नाम सुन्न पनि चाहनुभएन,” उनले उल्लेख गरे।

प्रचण्डले भट्टराईलाई कम्युनिस्ट मूल्य र विचारधाराबाट टाढिँदै प्रतिक्रियावादी धारमा लागेको आरोप लगाए। “मार्क्सवाद नभन्ने, कम्युनिस्ट पार्टी नभन्ने, अब त पूरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि,” उनले भने।

उनले भट्टराईसँग रहेका धेरै नेता तथा कार्यकर्ता भ्रममा परेर गएको तर अहिले माओवादी केन्द्र फर्किन थालेको दाबी पनि गरे। “गंगानारायण श्रेष्ठलगायत धेरैजना फर्किँदै हुनुहुन्छ। यो पनि त एकता हो। तर बाबुरामलाई ल्याउन दिमाग चाहिन्छ,” प्रचण्डले भने।

प्रचण्डको यस्ता कटाक्षपूर्ण टिप्पणीले माओवादी केन्द्र र समाजवादी पार्टीबीचको दूरी अझै गहिरिएको संकेत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको