पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा यही जेठ १० गते चीन भ्रमणका लागि प्रस्थान गर्न लागेकी छन्। पूर्वराष्ट्रपति भण्डारीको भ्रमण नेपाली राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ, किनभने यो भ्रमण सरकार र एमाले दुवैको सहमति र समन्वयमा सम्पन्न हुन लागेको हो।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव र सहमतिमा भण्डारीको भ्रमण तय भएको हो। भ्रमणको नेतृत्व भण्डारीले लिने भए पनि यसमा सरकार तथा एमाले दुवैको सक्रिय सहभागिता रहनेछ। यसर्थ, भ्रमण टोलीमा सरकारका प्रतिनिधि र एमाले नेताहरू दुबै समेटिएका छन्।
भ्रमण टोलीमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, पूर्वराष्ट्रपति भण्डारीका निकट सहयोगी तथा उनका स्वकीय सचिव डा. भेषराज अधिकारी, मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट सहभागी छन्। यीमध्ये भण्डारी, अधिकारी र विष्ट ‘मदन भण्डारी फाउन्डेशन’सँग आबद्ध छन्।
चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओली पनि बेइजिङमा टोलीमा सहभागी हुनेछन्। केही दिनअघि सगरमाथा संवादका लागि काठमाडौं आएका राजदूत ओली हालै मात्र चीन फर्किएका थिए।
पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण औपचारिक राजकीय भ्रमण नभई चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजना गरिएका दुई विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा हुने बताइएको छ। भ्रमणको अवधि दश दिनको हुनेछ, जसअन्तर्गत उनी बेइजिङ, गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु पुग्नेछिन्। जेठ १० देखि १९ गतेसम्मको भ्रमण तालिका तय गरिएको छ।
शनिबार राति काठमाडौंबाट ग्वान्जाओ हुँदै आइतबार बेइजिङ पुग्ने कार्यक्रम छ। आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चिनियाँ परराष्ट्र मन्त्रालयले स्वागत समारोह तथा रात्रिभोजको आयोजना गर्नेछन्, जसमा छिमेकी देशका नेताहरू पनि सहभागी हुनेछन्।
भोलिपल्ट सोमबार, भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता हुने कार्यक्रम छ। यद्यपि, चिनियाँ शीर्ष नेतृत्वसँगको भेटबारे औपचारिक जानकारी भने आएको छैन।
विद्यादेवी भण्डारीले राष्ट्रपतिको हैसियतमा सन् २०१९ (२०७६ वैशाख) मा चीनको राजकीय भ्रमण गरेकी थिइन्। त्यस भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा गएकी थिइन्। त्यस्तै, उनले राष्ट्रपतिका रूपमा सी जिनपिङलाई २०७६ असोज २५–२६ मा नेपालको ऐतिहासिक भ्रमणमा स्वागत गरेकी थिइन्।
यसपटकको भ्रमणमा आफू निकट एमाले नेताहरूलाई साथ लिएर जानुले भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेतको रूपमा पनि हेरिएको छ। एमाले सचिव र भ्रमण दलका सदस्य रघुवीर महासेठका अनुसार, “यो भ्रमण चीनसँगको सम्बन्ध थप सुदृढ गर्न नेपालका लागि एक महत्वपूर्ण अवसर हो।”
पूर्वराष्ट्रपतिका रूपमा होस् वा राजनीतिमा सक्रिय नेताको रूपमा, भण्डारीको यो भ्रमण नेपालको राजनीतिक, कूटनीतिक सन्दर्भमा एक अर्थपूर्ण घटनाका रूपमा लिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस