काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरका प्रवक्ता तथा १७ नम्बर वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण पत्र पठाएका छन्। मेयरविरुद्ध सार्वजनिक रूपमा दिएको भनिएको अभिव्यक्तिका कारण ७ दिनभित्रमा चित्तबुझ्दो स्पष्टिकरण दिन आग्रह गरिएको हो।
प्रवक्ता मानन्धरले मिडियामा दिएको अभिव्यक्तिले मेयर साहको व्यक्तिगत छवि र सामाजिक प्रतिष्ठामा आँच पु¥याएको आरोप लगाउँदै पत्र आएको जानकारी दिएका छन्। नेपालप्रेससँग कुराकानी गर्दै उनले भने, “म मिडियामा बोल्दै गर्दा मेयर साबलाई व्यक्तिगत रुपमा हानि पुगेको ठानिएको रहेछ। सोही आधारमा मलाई स्पष्टिकरण मागिएको हो।”
उनका अनुसार अहिलेसम्म आफूले प्रवक्ताको जिम्मेवारीबाट हटाइएको आधिकारिक जानकारी नपाएको र राजीनामाको कुनै तयारी नरहेको बताएका छन्। “मेयरले मेरो प्रवक्ता पदबाट राजीनामा खोज्नु भएको हो कि भन्ने कुरा पछि मात्र प्रष्ट हुन्छ,” उनले थपे।
मानन्धरले साथीभाइसँग सल्लाह गरेर मात्र जवाफ दिने बताएका छन्। उनले स्पष्टिकरण पत्र अझै हातमा नपरेको भन्दै, नगर प्रहरीमार्फत जानकारी आएको उल्लेख गरेका छन्।
यो प्रकरणबारे मेयर साहको सचिवालयमा सम्पर्क गर्दा प्रतिक्रिया उपलब्ध हुन सकेन।
हालै मेयर बालेनले प्रवक्ता मानन्धरसहित चार जना वडाध्यक्षहरूलाई विभिन्न समितिको जिम्मेवारीबाट हटाएको पृष्ठभूमिमा यो घटनालाई हेरिएको छ। केही समयअघि सूचना प्रविधि विभागबाट हटाइएका मानन्धरलाई अब सार्वजनिक टिप्पणीको आधारमा प्रश्न उठाइएको हो।
प्रवक्ता मानन्धर र केही अन्य वडाध्यक्षहरूले महानगरको हालको कामकारबाहीमा असहमति जनाउँदै आलोचना गरेका थिए, जसपछिका घटनाक्रमले उनीहरूलाई मेयरको निशानामा पारेको देखिएको छ।
यहीबीच, केही महिनाअघि भ्रष्टाचार आरोप लगाउँदै प्रवेशमा रोक लगाइएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा फर्काउने क्रममा पनि मानन्धरले सहजीकरण गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस