भारतभर कोभिड–१९ को केस फेरि देखिन थालेका बेला राजधानी दिल्लीले सोमबार १०४ सक्रिय संक्रमित रिपोर्ट गरेको छ। तीमध्ये एक जना बिरामी एआईआईएमएस (AIIMS Delhi) मा भर्ना गरिएको दिल्ली सरकारले जनाएको छ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको कोभिड–१९ ड्यासबोर्ड अनुसार, गत साता दिल्लीमा सक्रिय संक्रमितको संख्या ९९ रहेको थियो।
दिल्ली सरकारका एक उच्च अधिकारीले अवस्था हाल नियन्त्रणमै रहेको बताए पनि स्वास्थ्य निकायहरू सर्तक रहेको र संक्रमण बढ्ने संकेत भए तुरुन्त कदम चालिने जानकारी दिएका छन्।
देशभरका तथ्यांक अनुसार, २०२५ मे २६ को बिहान ८ बजे सम्म भारतभर सक्रिय कोभिड–१९ संक्रमितको संख्या १,००९ पुगेको छ।
यसअघि भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (ICMR) ले भारतका केही राज्यहरूमा फेरि कोभिड संक्रमण देखिए पनि हालका भेरियन्टहरू सामान्य लक्षण मात्र देखाउँदै आएको बताएको छ। ती लक्षणहरू प्रायः ओमिक्रोनसँग मिल्दोजुल्दो रहेका छन्।
ICMR का महानिर्देशक डा. राजीव बहलले ANI लाई बताएका अनुसार, सरकार अहिले ट्रान्समिसन ट्र्याकिङ, निगरानी, र पूर्वतयारीमा केन्द्रित छ। "हामीले हाल देखिरहेका भेरियन्टहरूले ओमिक्रोन जस्तै सामान्य लक्षण मात्र देखाइरहेका छन्," उनले भने।
कोभिड–१९ को नयाँ लहरसँगै विभिन्न राज्यमा केस रिपोर्ट भइरहेका छन्। २६ मे मा बिहारको राजधानी पटनाबाट ३१ वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ, जसलाई राज्यको पहिलो केसका रूपमा रिपोर्ट गरिएको छ। पीटीआई (PTI) लाई एक वरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
त्यसअघि २५ मे मा झारखण्डको राजधानी राँचीमा पनि नयाँ लहरको पहिलो संक्रमित फेला परेको थियो। उक्त संक्रमित व्यक्ति हाल एक निजी अस्पतालमा उपचाररत छन् र उनी केही दिनअघि मुम्बईबाट फर्किएका थिए।
कर्नाटकमा ८४ वर्षीय एक वृद्धको मृत्यु कोभिड संक्रमण पुष्टि भएको केही दिनपछि भएको छ। राज्यका स्वास्थ्य मन्त्री दिनेश गुन्डू रावले पत्रकारसँग कुरा गर्दै ती व्यक्तिमा पूर्वदेखि नै जटिल स्वास्थ्य समस्या रहेको बताए।
"उनी एक वर्षदेखि ओछ्यानमै थिए, हिप रिप्लेसमेन्ट गरिएको थियो, हृदयसम्बन्धी समस्या थियो र क्षयरोग (TB) पनि थियो," मन्त्री रावले भने। "हामीले मृत्यु १७ मे आसपास भएको अनुमान गरेका छौँ र सटीक कारण पत्ता लगाउन मेडिकल अडिट आदेश दिइसकेका छौँ," उनले थपे।
पश्चिम बंगालमा २६ मे मा चार जना नयाँ संक्रमित फेला परेका छन्। यसअघि २४ मे मा सात जना संक्रमित देखिएको स्वास्थ्य विभागले जनाएको छ। यससँगै राज्यमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या ११ पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस