अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक भएको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले बजेट आर्थिक स्थायित्व कायम गर्ने, निजी क्षेत्रको विश्वास बढाउने र विकासको गति अगाडि बढाउने तीनै उद्देश्यमा केन्द्रित रहेको स्पष्ट पारे।
पौडेलका अनुसार यो बजेट अनुमानमा आधारित नभई स्पष्ट कार्यनीति र कार्यक्रमसहितको दस्तावेज हो। 'बजेट कार्यान्वयनको विषय हो, जसमा आर्थिक वर्षभर छलफल भइरहन्छ,' उनले भने, 'हामी त्यसको प्रभावकारी कार्यान्वयनमै सफलता देख्न चाहन्छौं।' साथै, आर्थिक वर्षभरै बजेटको अनुगमन हुने र आवश्यक परेमा संशोधन गर्न सकिने व्यवस्था खुला राखिएको उनको भनाइ छ।
निर्यात अनुदानको विषयमा अर्थमन्त्री पौडेलले सरकार सन्तुलित दृष्टिकोणमा आधारित रहेर अघि बढ्ने तयारीमा रहेको बताए। 'घाटी हेरेर हाड निल्ने योजनामा छौं,' उनले भने, 'सोही अनुसार योजनाबद्ध रूपमा काम हुनेछ।'
सांसदहरूका लागि नेतामुखी योजना बजेटमा नरहेको उल्लेख गर्दै उनले कुनै पनि योजना व्यक्तिविशेषका लागि बनाइएको छैन भन्ने स्पष्ट पारे। पत्रकारहरूलाई उनले सांसद योजनाबारे खोज तथा अनुसन्धान गर्न पनि आह्वान गरे। वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याउने निर्णयबारे बोल्दै अर्थमन्त्रीले यो निर्णय आर्थिक सुधार समितिको सिफारिसका आधारमा गरिएको बताए। आर्थिक क्रियाकलापको समग्र मूल्याङ्कनपछि यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ।
बजेट कार्यान्वयन प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयहरूलाई तयारीसहित अघि बढ्न निर्देशन दिइसकेको पनि उनले जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस