एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेपछि नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ज्ञवालीले एमालेले सधैं संवैधानिक तथा कानुनी निकायहरूको अनुसन्धानमा सहयोग गर्ने नीति अवलम्बन गर्दै आएको बताएका छन्। उनले आफूमाथि लागेका आरोपको कानुनी रूपमा सामना गर्ने र अदालतको निर्णय स्वीकार गर्ने एमालेको स्थापित मान्यता रहेको उल्लेख गरेका छन्।
ज्ञवालीले निष्पक्ष र गहिरो अनुसन्धानपछि मात्र अभियोजन प्रक्रिया अगाडि बढ्नुपर्ने तथा अत्यावश्यक अवस्थामा मात्र पक्राउ गर्ने अभ्यास न्यायिक प्रणालीको स्थापित मान्यता हुनुपर्ने बताएका छन्। तर नेपालमा भने ‘पहिले गिरफ्तार गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने’ प्रवृत्ति लामो समयदेखि चलिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले राज्यका संवैधानिक तथा कानुनी निकायहरूले कुनै पनि निर्णय पूर्वाग्रह वा प्रतिशोधको भावनाबाट प्रेरित भएर लिन नहुने धारणा समेत व्यक्त गरेका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीका शीर्ष नेताहरूबाट सार्वजनिक प्रतिक्रिया आउन थालेको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलको भैसेपाटीस्थित निवासमा समेत खानतलासी गरेको थियो।
पौडेलमाथिको अनुसन्धान जारी रहेका बेला एमाले नेतृत्वले कानुनी प्रक्रियाको सम्मान गर्दै निष्पक्ष अनुसन्धानको अपेक्षा गरेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस