वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ऐतिहासिक भोटो जात्रा विशेष साइत हेरेर जावलाखेलमा सम्पन्न हुँदैछ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म ‘जावलाखेल जात्रा’ भनिन्थ्यो। ‘जा’ अर्थात् भात र ‘वला’ अर्थात् छर्ने भन्ने नेवारी भाषाबाट बनेको ‘जावलाखेल’ शब्दले भूत–प्रेतलाई खाना चढाउने परम्परासँग सम्बन्धित जात्राको संकेत गर्छ।
भोटो जात्रा सुरु भएको यकिन मिति यद्यपि अझै प्रमाणित छैन, तर रातो मच्छेन्द्रनाथको रथयात्रा करिब एक हजार तीन सय वर्ष पहिले सुरु भएको किम्बदन्ती छ। त्यही बेला नागराज कर्कोटककी रानीको आँखा दुखेपछि उपचारका लागि वैद्य खोजिँदै किसानलाई टौदह लगिएको जनविश्वास छ। किसानले मच्छेन्द्रनाथको प्रार्थना गरेर मयल औषधिको रूपमा दिएका थिए। उक्त औषधिले कर्कोटक रानीको आँखाको रोग निको भएपछि सन्तुष्ट नागराजले मणि–माणिक्य जडित भोटो किसानलाई पुरस्कारस्वरूप दिएका थिए।
तर खेतमा काम गरिरहेका बेला किसानको त्यो भोटो एक मनुष्यरूपि भूतले लग्यो। पछि मच्छेन्द्रनाथको जात्रामा गएका किसानले उक्त भोटो कसैले लगाएको देखेपछि दाबी गरे। भूतले भोटो दिन नमानेपछि विवाद सिर्जना भयो। अन्ततः कर्कोटक नागलाई समेत साक्षी राखेर भोटो न कसैको भन्ने ठहर गर्दै मच्छेन्द्रनाथको जिम्मा लगाइएको किम्बदन्ती छ।
त्यसयता भोटोको दाबी प्रमाणसहित कोही आएमा मात्र दिने परम्परा बसेको हो। तर अहिलेसम्म कसैले प्रमाणसहित भोटो माग्न सकेको छैन। यही परम्परा अनुसार आज विशेष साइतमा मच्छेन्द्रनाथको रथ यात्रा सम्पन्न भएपछि भोटो देखाइनेछ।
पछिल्ला वर्षहरूमा गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा निभाउँदै आएका छन्। राजतन्त्रकालमा राजा आफैं भोटो जात्रा हेर्न जाने गर्थे भने गणतन्त्रपछि राष्ट्रपतिको उपस्थितिमा यो जात्रा सम्पन्न हुँदै आएको छ।
भोटो जात्राको अवसरमा सरकारले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज सार्वजनिक बिदा दिएको छ। यसै कारण उपत्यकाका बैंक तथा सेयर बजार (NEPSE) समेत आज बन्द रहनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस