पश्चिम एसियाको तनावपूर्ण युद्धस्थितिबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा हुनुअघि नै कतारले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै उडानहरू पुनः सञ्चालनमा ल्याएको छ। इरानले अमेरिकाको आणविक केन्द्रमाथि भएको आक्रमणको बदला स्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि कतारले अस्थायी रूपमा आफ्नो आकाश बन्द गरेको थियो।
कतारको विदेश मन्त्रालयले सोमबार बिहानै हवाई यातायात अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएको थियो। बयानमा भनिएको थियो, "नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरूको सुरक्षाका लागि कतारले आकाश बन्द गर्ने निर्णय लिएको हो।"
तर त्यसको केही घण्टापछि कतार एयरवेज ले हवाई क्षेत्र खुलिसकेको र उडानहरू पुनः सुचारु गरिएको पुष्टि गर्दै यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिवद्धता जनाएको छ।
कतार एयरवेजले X (पूर्व ट्विटर) मा लेखेको छ,
"कतार राज्यको आकाश खुल्ला भएसँगै हामीले उडानहरू पुनः सुरु गरेका छौँ। यात्रुहरूको सुरक्षा, सहजता र गन्तव्यसम्मको यात्रा सुनिश्चित गर्न हामीले Hamad International Airport मा थप ग्राउन्ड स्टाफ खटाएका छौँ।"
यात्रुहरूलाई कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत यात्रा जानकारी अपडेट हेर्न पनि अनुरोध गरिएको छ।
इरानी राज्य टेलिभिजनले अल उदीद (Al Udeid) अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई अमेरिकाको आणविक साइटमा गरिएको हमलाको जवाफ भनेको थियो। तर कतारले ती मिसाइलहरू अवरोध गरिएको र कुनै मानवीय क्षति नभएको जनाएको छ।
कतारले आकाश बन्द गरेसँगै धेरै अन्तर्राष्ट्रिय उडानहरू बीचमै मोडिएका थिए भने केही उडानहरू रद्द गरिएको थियो। यही क्रममा विश्वभरका विमान कम्पनीहरूले मध्यपूर्वीय मार्ग पुनः समीक्षा गरेका थिए।
कतारले आकाश खोल्ने निर्णय लिँदासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच २४ घण्टे चरणबद्ध युद्धविरामको घोषणा गरेका छन्। उनले Truth Social मा लेख्दै युद्ध अन्त्यको औपचारिक घोषणा हुने संकेत पनि दिएका छन्।
इरान र इजरायलबीच जुन १३ देखि सुरु भएको सशस्त्र संघर्षमा हालसम्म ९५० भन्दा बढीको मृत्यु भइसकेको र ३,४५० भन्दा बढी घाइते भएको मानव अधिकार समूहहरूको दाबी छ। अमेरिकाले आफ्नो बंकर बस्टर बम, टमाहक मिसाइल र १२५ भन्दा बढी युद्धविमान प्रयोग गर्दै इरानका तीनवटा मुख्य आणविक स्थलहरूमा हमला गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस