पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज अदालतमा उपस्थित भएका छन्। हाल विशेष अदालतको इजलास नम्बर २ मा उनको बयान जारी छ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो। बयानपछि थुनछेक बहस हुने कार्यसूची अदालतले तोकेको छ।
नेपालले यसअघि अदालतमा स्वयम् उपस्थित हुन पाउने सुविधा माग्दै निवेदन दिएका थिए। सोही अनुरूप पेसी तोकिएपछि उनी आज अदालतमा हाजिर भएका हुन्।गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अनियमितता भएको आरोपमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपालमाथि प्रधानमन्त्री रहेकै बेला पतञ्जलिलाई गैरकानुनी तरिकाले सरकारी जग्गा बिक्रीको अनुमति दिएको आरोप छ। अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना र सजाय माग गर्दै अभियोगपत्र पेश गरेको हो। नेपाल पक्षका कानुनी प्रतिनिधिहरूले उनलाई साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर गर्दै थुनछेक बहसमा तयारी गरिरहेका छन् भने सरकारी वकिलहरू थुनाको माग गर्दै बहस गर्ने तयारीमा छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस