नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमाले गम्भीर संकटमा परेको टिप्पणी गरेका छन्। उनले एमालेभित्र बढ्दो अन्तरविरोधले पार्टीको भविष्य अनिश्चित भएको बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित विद्यार्थी जिल्ला कमिटीको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेलाई 'मुख्य कम्युनिस्ट पार्टी' भनिए पनि हाल त्यो गम्भीर समस्यामा फसेको दाबी गरे।
'अहिले नेकपा एमाले गहिरो संकटमा छ, पार्टीभित्र अन्तरविरोध तीव्र बन्दै गएको छ। त्यसको परिणाम के हुनेछ भन्ने स्पष्ट भन्न सकिने अवस्था छैन,' उनले भने।
उनले अनुचित कार्य, व्यक्तिवाद र दक्षिणपन्थी प्रवृत्तिले मुलुकको राजनीतिमा अस्वस्थ वातावरण बनाइरहेको भन्दै यस्ता प्रवृत्तिहरूलाई परास्त गर्नुपर्नेमा जोड दिए। 'कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवाद र दक्षिणवादी सोच बोकेकाहरूलाई परास्त गर्नु आजको आवश्यकता हो,' उनले भने।
अध्यक्ष नेपालले वर्तमान सरकारले देशको नेतृत्व गर्न नसकेको आरोप पनि लगाए। 'सरकारले मुलुकलाई प्रभावकारी रूपमा हाँक्न सकेको छैन, न त सही नीति अवलम्बन गर्न सकेको छ,' उनले स्पष्ट पारे। उनले यस्तो सरकारलाई समर्थन दिन सकिने कुनै परिस्थिति नरहेको भन्दै यसको पतन अनिवार्य रहेको बताए। 'हामी यस्तो सरकारलाई साथ दिन सक्दैनौं। यसको पतन निश्चित छ, हामीले केवल समयको पर्खाइ गर्नुपर्छ,' अध्यक्ष नेपालले उल्लेख गरे।
उनका अनुसार समाजवादी पार्टीले देशभर संगठन विस्तार र अधिवेशनको तयारी गरिरहेको छ, केही प्रदेशमा मात्रै अधिवेशन बाँकी रहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस