नेपालको बैंकिङ प्रणाली हाल अत्यधिक तरलता को अवस्थामा पुगेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन तीव्र गतिमा बढिरहे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ,जसले देशको आर्थिक चक्र सुस्त भएको संकेत गर्छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, असार १२ गते मात्र ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, तर सोही दिन कर्जा प्रवाह केवल १ अर्ब रुपैयाँले मात्रै बढेको छ।
असार ११ गतेसम्म बैंकिङ प्रणालीमा जम्मा ७० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असार १२ गते त्यो रकम बढेर ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। तीमध्ये, वाणिज्य बैंकहरूको हिस्सा ६३ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ भने अन्य विकास बैंक तथा वित्तीय संस्थाहरूमा ७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको देखिन्छ। यो वृद्धिले जनताको बैंकप्रतिको भरोसा कायम छ भन्ने देखाए तापनि, कर्जा प्रवाहको तर्फबाट बैंकहरू समस्यामा परिरहेका छन्।
कर्जा प्रवाहमा भने उल्लेखनीय प्रगति देखिएको छैन। असार ११ मा बैंकहरूले ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने असार १२ मा यो आंकडा ५५ खर्ब ७५ अर्ब पुगेको छ, अर्थात् जम्मा १ अर्ब रुपैयाँको वृद्धि। यसमध्ये वाणिज्य बैंकहरूको हिस्सा ४९ खर्ब ५५ अर्ब रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ६ खर्ब २० अर्ब रुपैयाँमा सीमित छ। यथेष्ठ तरलता हुँदाहुँदै पनि कर्जा लगानी घट्नुले बैंकहरूको लगानी क्षमताको उपयोग हुन नसकेको स्पष्ट देखिन्छ।
बैंकहरूमाझको अन्तर बैंक ब्याजदर हाल ३ प्रतिशतमा झरेको छ, जुन तरलता धेरै भएको प्रमुख संकेत हो। यस्तै, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८.०५ प्रतिशतमा सीमित छ, जुन राष्ट्र बैंकले तोकेको अधिकतम सिमा ९० प्रतिशतभन्दा निकै तल छ। यसको अर्थ बैंकहरूसँग अझ धेरै कर्जा प्रवाह गर्ने सम्भावना भए तापनि, बजारमा कर्जाको माग नहुँदा त्यो सम्भावना प्रयोग हुन सकेको छैन।
यस अवस्थाको प्रमुख कारण आर्थिक गतिविधिमा आएको मन्दी हो। निजी क्षेत्रको लगानीमा आएको गिरावट, आयात–निर्यातमा कमी, उत्पादन क्षेत्रको सुस्तता, तथा सरकारी विकास खर्चमा भएको ढिलाइका कारण कर्जाको माग कम भएको विश्लेषण गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस