ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा योजना सार्वजनिक गरेको छ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यअनुसार मुलुकलाई आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउन लिइएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले यो विशेष कर्जा योजना ल्याएको हो।
यस योजनाअन्तर्गत कृषकहरूले धानको बिउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण र अन्य आवश्यक सामग्री खरिदका लागि बैंकबाट अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन्।
खेतयोग्य जमिनको सदुपयोग गरी धान खेती मार्फत कृषकको आम्दानी बढाउने, कृषि पेशालाई व्यवसायिक र मर्यादित बनाउने उदेश्यले यो योजना तयार पारिएको बैंकले जनाएको छ। राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं. १, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी र स्थानीयहरूको सहभागितामा धान रोपाई कार्यक्रम पनि आयोजना गरेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, कर्मचारीहरू र स्थानीयहरू सहभागी थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कार्यक्रममा नेपाल सरकारको रणनीति अनुसार धान उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत कृषकको मनोबल बढाउने लक्ष्यले बैंकले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए।
उनले नयाँ धान खेती कर्जाले कृषकहरूलाई धान खेतीमा प्रोत्साहित गर्ने र उत्पादन वृद्धिमा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न सान्दर्भिक योजनाहरू ल्याएर उनीहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस