Like us!
Follow us!
Connect us!
Watch us!

५ खर्ब २० अर्ब रुपैयाँ लगानीयोग्य रकम थन्कियो , लगानीको अवसर छ - गभर्नर पौडेल

अर्थ संसार

आइतबार, २२ असार २०८२, १५ : ०० मा प्रकाशित

५ खर्ब २० अर्ब रुपैयाँ लगानीयोग्य रकम थन्कियो , लगानीको अवसर छ - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अहिले लगानीका लागि अनुकूल वातावरण बनेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित ‘प्रि-मौद्रिक नीति छलफल’ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले बैंकमा पर्याप्त निक्षेप, विदेशी मुद्रा सञ्चिति सन्तोषजनक र लगानीयोग्य रकम प्रशस्त रहेकाले अब दिगो र सन्तुलित विकासका लागि अवसर देखिएको उल्लेख गरे।

उनका अनुसार हाल राष्ट्र बैंकसँग मात्रै बैंकहरूका ५ खर्ब २० अर्ब रुपैयाँ जति थन्किएको छ। यस्तो अवस्थामा अब मौद्रिक नीतिले वित्त नीतिसँग मिलेर ऊर्जाजस्तै अन्य लगानी क्षेत्र पहिचान गर्नु जरुरी भएको उनले बताए।

'मौद्रिक नीति र वित्त नीतिबीच समन्वय गर्दै अघि बढ्नुपर्ने समय यही हो,' गभर्नर पौडेलले भने। बैंक तथा वित्तीय संस्थाको नियमनका क्रममा अब व्यापक आर्थिक (माइक्रो इकोनोमिक) दृष्टिकोणबाट सोच्नुपर्ने अवस्था आएको उनको धारणा थियो।

उनले ग्रामीण क्षेत्रमा अझै पर्याप्त ऋण प्रवाह नपुगेको स्वीकार गर्दै त्यसलाई आगामी मौद्रिक नीतिबाट सम्बोधन गरिने बताए। 'जुन क्षेत्रमा कर्जा जानुपर्थ्यो, त्यहाँ पुगेन भन्ने गुनासो छ। आगामी मौद्रिक नीतिमा त्यो सन्तुलन मिलाउने प्रयास हुनेछ,' गभर्नरको भनाइ थियो।

पौडेलले नयाँ मौद्रिक नीतिको प्राथमिकता समावेशीता, क्षेत्रीय सन्तुलन र दिगोपनामा केन्द्रित हुने जानकारी दिए। 'राष्ट्र बैंकले सधैं दिगो विकासलाई प्राथमिकता दिँदै आएको छ, अब पनि त्यसैअनुसार नीति आउनेछ,' उनले स्पष्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको