हिमालयन बैंक लिमिटेडले यही थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले यहि असार ३२ गतेदेखि एफपीओमा आवेदन खुला गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिभित्र पर्याप्त मात्रामा आवेदन नपरेको खण्डमा निष्कासन अवधि थप गरी साउन १४ गतेसम्म कायम गरिनेछ ।
बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ ।
यसमा लगानीकर्ताले बिक्री प्रबन्धक समेत रहेको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड, कमलादीस्थित हिमालयन बैंक लिमिटेड र धितोपत्र बोर्डका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् । बैंकले एफपीओ निष्कासनपछि प्राप्त हुने पुँजीमध्ये ८० प्रतिशत लगानी गर्ने र बाँकी २० प्रतिशत सेवा विस्तार तथा स्तरोन्नतीमा खर्चिने बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस