राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आजको कार्यालय समयभित्र मात्र आवेदन दिन सकिने छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अनुपातमा अर्थात् १ कित्ता बराबर १ कित्ता नयाँ सेयरको दरमा हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता सेयर जारी गरिएका छन् । यसबाट कम्पनीले कुल ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ ।
कम्पनीले हकप्रद निष्काशनका लागि जेठ ६ गते बुकक्लोज गरिसकेकोले जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले उक्त क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौं, राप्ती हाइड्रोको त्रिपुरेश्वरस्थित कर्पोरेट कार्यालय, साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि सजिलै आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस