नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा कुल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोधन गरेको छ। तर बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसकेको कारण उक्त रकम राष्ट्र बैंकले पटकपटक प्रशोधन गरेको हो।
यस अवधिमा निक्षेप संकलन बोलकबोल प्रक्रियामार्फत २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड रुपैयाँ खिचिएको छ। बोलकबोल र स्थायी निक्षेप सुविधा मार्फत जम्मा २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत कुल १९० खर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोधन गरिएको थियो। त्यस्तै, यस अवधिमा २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट तरलता सुविधा पनि उपयोग भएको छ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट वाणिज्य बैंकहरूलाई अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५ अर्ब ३३ करोड खुद खरिद गरी ७ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
त्यसैगरी, यस अवधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड रुपैयाँ बराबर भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्ष सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ६४ करोड बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड रुपैयाँ बराबर भारतीय रुपैयाँ खरिद गरिएको थियो।
आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूबीच १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस