नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सकारात्मक धारणा व्यक्त गरेको छ। परिसंघले नीति सन्तुलित, समयानुकूल र व्यावहारिक रहेको भन्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा बैंकिङ क्षेत्रको मनोबल उकास्ने दिशामा अगाडि बढेको जनाएको छ।
सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको वर्तमान आर्थिक परिस्थिति, निजी क्षेत्रको मनस्थिति र अन्तर्राष्ट्रिय परिवेशको समग्र मूल्याङ्कनसहित राष्ट्र बैंकले प्रस्तुत गरेको नीति बैंकिङ प्रणालीलाई दिगो, दर्बिलो र जीवन्त बनाउने स्पष्ट खाका हो।”
परिसंघले कर्जा लगानी क्षमता विस्तार, पूँजीकोष सुदृढीकरण, र ऋण प्रवाहमा सहजता ल्याउने नीतिहरूलाई विशेष स्वागत गरेको छ। सिबिफिनका अनुसार, नीति दर तथा बैंकदरमा गरिएको कटौतीले ब्याजदर घट्न सक्ने सम्भावना बढेको छ, जसले कर्जा विस्तारलाई थप सहज बनाउनेछ।
साथै, सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने प्रावधान, आवासीय घर कर्जा र सेयर धितो कर्जाको सीमा बढाउने, चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई व्यवहारिक रुपमा परिमार्जन गर्ने, र कर्जा नोक्सानीको वर्गीकरणलाई पुनरावलोकन गर्ने नीतिहरू पनि सकारात्मक रहेको ठहर सिबिफिनले गरेको छ।
राष्ट्र बैंकले ल्याएको ‘ऋणीसँग राष्ट्र बैंक’ अभियानलाई सेवाग्राहीमैत्री र चेतनामूलक पहल भन्दै परिसंघले स्वागत गरेको छ। यस कार्यक्रममार्फत ऋणीहरूलाई स्पष्ट जानकारी, समस्याको समाधान र समन्वयको वातावरण निर्माण हुने विश्वास व्यक्त गरिएको छ।
सिबिफिनले कृषि, लघु, घरेलु, साना तथा मझौला उद्यमहरूमा कर्जा सहजीकरणका विषयमा उल्लेख गरिएको पुनरावलोकनलाई निकै आवश्यक र उचित भएको बताएको छ। यसले उत्पादन वृद्धि, रोजगारी सृजना र आर्थिक चक्रमा गतिशीलता ल्याउने ठोस सम्भावना देखिएको पनि सन्देशमा उल्लेख छ।
सिबिफिनले अघिल्लो चरणमा राष्ट्र बैंकलाई बुझाएको सुझावहरूमध्ये केही महत्वपूर्ण बुँदाहरू नीति दस्तावेजमा नसमेटिएकोप्रति ध्यानाकर्षण गराएको छ। यद्यपि, ती विषयवस्तुहरू आगामी निर्देशन वा नीति समीक्षामार्फत समेटिने विश्वास परिसंघले लिएको छ।
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि सिबिफिनले आफू ‘निकट साझेदारका रुपमा सहकार्य गर्न सदैव तयार रहने’ प्रतिबद्धता व्यक्त गरेको छ। परिसंघले लगानी प्रवर्द्धन, नवप्रवर्तन, हरित लगानी, युवा जनशक्ति परिचालन, निर्यात वृद्धिका क्षेत्रमा मौद्रिक नीतिको सहकार्यमा निजी क्षेत्रले थप योगदान दिन सक्ने अपेक्षा राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस