Like us!
Follow us!
Connect us!
Watch us!

“हामीसँग पैसा र स्रोत छ, अब चाहिएको मनोबल मात्र हो” — गभर्नर

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, ०८ : ०७ मा प्रकाशित

“हामीसँग पैसा र स्रोत छ, अब चाहिएको मनोबल मात्र हो” — गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्रलाई गतिशील बनाउन मनोबल, सुशासन र खर्चलाई निर्णायक तत्वका रूपमा अगाडि सारेका छन्।

राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा सम्बोधन गर्दै गभर्नर पौडेलले अहिलेको अवस्था केवल आर्थिक सूचकले होइन, जनमानसको आत्मविश्वासले पनि निर्धारण गर्ने बताए। उनका शब्दमा, “अर्थतन्त्र आत्मविश्वासमा निर्भर हुन्छ — विश्वास गरेमा मात्र उकासिन्छ। हामीसँग पैसा छ, स्रोत छ, सुशासन पनि छ, अब मनोबल जगाउन बाँकी छ।”

उनले आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्र दुवै सक्रिय भएर खर्च र लगानी बढाउनुपर्नेमा जोड दिए। पौडेलले भने, “अमेरिकाले १९३० को महामन्दीपछि सार्वजनिक खर्च बढाएर अर्थतन्त्र उठायो, नेपालले पनि त्यही बाटो लिनुपर्छ।”

उनका अनुसार हाल देशमा कालोसूचीमा परेका करिब डेढ लाख ऋणी र ‘एभरग्रिनिङ’ समस्याले नयाँ उद्योग, व्यवसाय र स्टार्टअपहरूलाई प्रभावित पारेका छन्। उनले भने, “अक्षम उद्योगलाई स्वाभाविक रूपमा बाहिरिन दिनुपर्छ, नयाँ सोच र नवप्रवर्तनलाई ठाउँ दिन सक्नुपर्छ।”

गभर्नरले विश्वव्यापी डिजिटल रूपान्तरणले व्यापार, बैंकिङ र शासन प्रणालीमा ठूलो परिवर्तन ल्याइरहेको उल्लेख गर्दै भने, “अब परिवर्तनसँग तालमेल गर्न नसक्ने संस्था ब्लकबस्टरजस्तै इतिहास बन्नेछन्। टेस्ला र अमेजनले जसरी निडर परिवर्तन गरे, हामीले पनि त्यही हिम्मत गर्नुपर्छ।”

कार्यक्रमको अन्त्यमा उनले सरकारलाई खर्च बढाउन र निजी क्षेत्रलाई तीव्र गतिमा अघि बढ्न आग्रह गर्दै भने, “जब सरकारको खर्च बढ्छ र निजी क्षेत्र सक्रिय हुन्छ, त्यतिबेला मात्रै अर्थतन्त्रमा आत्मविश्वास फर्किन्छ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको